कन्ट्री भिल्लाको आँगनमा झरिरहेको बरफको साम्राज्य विचित्र ढंगले फैलिंदै थियो । जसले सडक, घरका छाना र आँगन पूरै सेतो बनाउँदै थियो । वर्षको एकपटक यस दिनको व्यग्र प्रतीक्षामा हुन्छन् कालिञ्चोकवासी । किनकि हिउँ खेल्न आउने पर्यटकले भरिन्छ कुरी भिलेज, र संचार हुन्छ एउटा जीवन ।
स्वीट्जरल्याण्डको झल्को मेटाउने कुरीमा यतिबेला हिमपात सुरु भइसकेको छ । र भरिभराउ भएका छन् कुरीका होटलहरू । प्रत्येक घर र होटलमा सल्लाका दाउरा बल्न थालेका छन् । चारैतिर संगीत गुञ्जिएको छ । कोदोको तोङ्वा र चौंरीको सेकुवा सबैको प्रिय भोजन बनिरहेको छ । क्याम्प फायर, संगीत र तोङ्वामा युवायुवतीको मोह अलि बढी नै देखिन्छ ।
मेरो नजिकै छ आँखा डाक्टरहरूको एउटा ग्रुप । र उनीहरू नजिकैको एउटा टेबलमा छु म । उनीहरू मज्जाले रक्सी र चुरोट पिइरहेका छन् र उडाइरहेका छन् आफ्नै डाक्टरी जीवनको मजाक । म एउटा टेबलमा एक्लै छु र खोजी रहेकी छु आफैंभित्र हराएको शान्ति ।
त्यही ग्रुपको एउटा डाक्टर घरीघरी मलाई हेरिरहेको छ । उसले हेर्दा म उसलाई नहेरेको बहाना गरिरहेकी छु । र, वास्तवमा मलाई हेरिरहनु पनि छैन । म कसैसँग परिचय गर्र्ने मूडमा नै थिइनँ । तर मलाई डाक्टरहरूको त्यो रोमान्स खुब रमाइलो लागिरहेको छ ।
‘हामी प्यासेन्टहरूलाई रक्सी नखा भन्छौं, चुरोट हानिकारक हो भन्छौं, तर के हामीले खान छोडेका छौं र ?’ कुनै कुराको प्रसंगमा एउटा डाक्टर भनिरहेको थियो । उनीहरूको यस्तो कुरा सुनेर मलाई खुब हाँसो उठ्यो । म जोडले हाँसेको देखेर ती डाक्टरका आँखाले फेरि मलाई हेरे, जसले मलाई घरीघरी हेरिरहेको थियो । मैले हाँसो रोकें र सामान्य हुन खोजें । उसका आँखा आफ्नै टिममा फर्किए ।
वास्तवमा खुसी, जीवनको आदर्श र अनुशासन भन्दा धेरै फरक चिज रहेछ भन्ने भइरहेको थियो । जसको खोजीमा भौंतारिइरहेका थिए ती डाक्टरहरू । भौंतारिएकै थिएँ म र भौंतारिंदै थिए त्यहाँ पुगेका सबै सबै मानिस ।
पीडा र वेदनाको निर्वासनका लागि मान्छेले पाखण्डलाई बिर्सिनु आवश्यक रहेछ । शायद त्यही पाखण्डको अन्त्य गर्न सकिरहेका थिएनौं हामी सबै । या फेरि पाखण्डको अर्को उजागर खोजिरहेका थियौं रक्सीको नशामा । उमंग, उत्साह, उदासी र उत्खनन या फेरि मोक्षयात्रा, आत्मनिरीक्षण गर्ने हो भने यी सबै तत्व त्यहाँ उपस्थित सबैसँग समावेश थिए ।
संगीत चलिरहेकै थियो । आँखामा आँखा जोडेर युवायुवतीको जीवनले उच्चतम आनन्दको उत्सर्ग मनाइरहेको थियो । तर म भीडहरूमा एकान्त थिएँ । शायद मेरो रुचि ती गतिविधिभन्दा निकै पर पुगिरहेको थियो ।
डाक्टर ग्रुपको उद्दण्डता बढ्दै गइरहेको थियो । नशाले उनीहरूलाई डाक्टर हुन् भन्न छोडिसकेको थियो । अब एक्लै त्यहाँ बसिरहनु उपयुक्त थिएन । म उठें र आफ्नो कोठातिर गएँ । वेटरले बारको टेबलमा मैले पिइरहेको स्कचको बोटल र गिलास मेरो रुममै ल्याइदियो । दश वर्ष पुरानो भनिएको ह्वाइट एण्ड मेक्कीको बोटलभित्र रहेको स्कचको घुटसँगै मैले आफ्ना जीवनका तथाकथित घुटहरूलाई केहीबेर पिउन थालें ।
हुन त म जान्दथें यी तथाकथित घुटको वर्तमान जीवनमा कुनै तालमेल छैन । जीवनको संघर्ष जीवनकै गर्तमा दबिएर समाप्त भइसकेपछि बाँकी रहेको समय, त्यसैले जन्माएर छोडेका अप्राप्तिहरूमा परिणत हुँदैथिए । तर आज मलाई यी सब कुराको चिन्ता गर्नु नै थिएन । म हातको गिलास रित्याउँछु र हिटर बालेर विस्तरामा पल्टिन खोज्छु । विस्तरा निकै चिसो लाग्छ । तात्नका लागि केही समय पर्खिनुपर्ने भयो । म उठेर पुनः कुर्सीमा बस्छु । र, गिलासमा एक पेग थप्छु ।
‘आज जून उदायो होला कि नाइँ ?’ मलाई अकस्मात् आकाशका ताराहरूको सम्झना हुन्छ । तारासँगै त्यो अर्ध चन्द्रमाको याद आउँछ । र, याद आउँछ एउटा आर्यपुरुषको । किनकि तारापुञ्जको बीचमा आधा हुँदै गरेको चन्द्रमा र त्यो आर्यपुरुषको जीवन मलाई उस्तै लाग्थ्यो । दुवै दूर, दुवै अप्राप्य । तर एउटा विशिष्ट अनुभूति, विशिष्ट कनेक्सन । साँच्चै भन्ने हो भने मलाई कहिल्यै मन नपर्ने उसले भिर्ने गरेको जनै पनि प्रिय लाग्न थालेको थियो । किनकि त्यो एउटा विशिष्ट वस्त्र थियो । शरीर नढाकिने उक्त वस्त्रको जैविक आयतन कति थियो त्यो भने मलाई थाहा थिएन ।
बाहिर बेजोड हिमपात भइरहेको थियो । र, यो रातमा ताराहरू लुकेका थिए । मलाई मेरो आर्यपुरुषको अनुहार त्यतै कतै लुकेकोे अनुभूति भइरहेको थियो ।
मनमा कल्पना हुन्छ, आकाशमा ढकमक्क भरिएका ताराहरूको बीचमा चम्किरहेको त्यो आधा चन्द्रमा र अनुभूत हुन्छ उही आर्यपुरुष । देख्छु सारा कठिनाइहरूका उकालो उक्लिंदै मेरो मरुस्थल जीवनतिर लम्किरहेका उनका कोमल पाइलाहरू ।
मेरो प्रेमको परिभाषामा लेख्नै पर्ने यदि केही छ भने त्यो उनको पाइलाहरू नै हो । जस्तै काँडाहरू बीच पनि सजिलै हिंड्न सक्ने जोखिम कमै पैतालाहरूले उठाउँछन् । र त्यो जोखिम उनकै पैतालाहरूले मात्र उठाउन सक्थे । त्यसकारण पनि मेरो उनीसँग भन्दा बढी उनका पैतालाहरूसँग प्रेम बसेको थियो । खुला आकाशमुनिको संसारमा उनको हिंडाइको रोमान्सका अगाडि जीवनका बाँकी सबै रोमान्सहरू फिका लाग्थे मलाई । यस्तै कल्पनाहरूलाई हृदयको अँगालोमा समेटेर भुसुक्क निदाउन खोज्छु म ।
‘ए उठ्, कति सुतेको ? तँ यहाँ सुत्नकै लागि आएकी होस् ? जुरुक्क उठिहाल् ।’
एउटा नमीठो आवाजले मेरो निद्रा भंग गरिदिन्छ । झिम् झिम् गर्दै मेरा आँखाका ढकनी उघ्रिन्छन् । टाउको र खुट्टा दुवै ढाकिएको सिरक उचालेर मैले एक पटक लामो सास लिन्छु । अनि थाहा हुन्छ कन्ट्री भिल्लाको रुम नम्बर २०१ को आँखीझ्यालमा पर्दा लागेको रहेनछ । किनकि बाहिर बलिरहेको बत्तीको उज्यालो कोठा भित्र छिर्ने प्रयत्न गरिरहेको थियो । यो देखेपछि मेरा दुवै आँखा झ्याल बाहिर निस्कने प्रयास गर्न थाल्छन् ।
आखिर कसले उठायो होला यो मध्यरातमा मलाई । बाहिर कोही छ कि ? कुनै सपना देखिएको पनि त थिएन । तँलाई यहाँ सुत्न बोलाएको होइन रे, आखिर कसको हिम्मत भयो होला मलाई यस्तो भन्ने ? म मनमनै भुत्भुताउँदै उठ्छु र चारैतिर कान ठाडा पार्छु ।
कुरी भिलेजमा गुञ्जिएको साँझको संगीत सबै बन्द भइसकेको थियो । माइनस ६ डिग्रीको चिसोमा पृथ्वी सेलाइसकेको थियो । त्यही पृथ्वीको एउटा कुनामा बिछ्याइएको एउटा बिछ्यौनामा केही समयदेखि विश्राम गर्दै आएकी थिएँ म । यसअघि त कसैले पनि मलाई यसरी उठ् भनेको थिएन । हजार दुःखहरू थिए । संघर्षहरू थिए । थकान र निद्रा दुवै थिए मसँग । फेरि पनि मलाई तँ उठ् भन्ने कोही थिएन । यसै बीचमा जन्मिएको थियो एउटा अशान्ति । जसलाई शान्त पार्न म यहाँ आइपुगेकी थिएँ ।
पर्दा उघारिएको आँखीझ्यालबाट एकपटक बाहिर हेर्छु । बरफको झरीले कुरी भिलेजलाई निर्ममतापूर्वक चुटिरहेको थियो । एकपटक कोठाबाट बाहिर निस्कन मन लागे पनि म पुनः सिरकभित्रै गुटमुटिन्छु । चिसो यति थियो कि उठेर बाहिर जाने आँट मैले गरिनँ ।
‘यहाँ तलाई सुत्न बोलाएको होइन’ रे । उफ् कसले भन्न सक्छ यस्तो ! के म कसैले बोलाएर यहाँ आएकी हुँ ? त्यस्तो त लाग्दैन । आफ्नै असन्तुष्टिहरूका बीचबाट उठेर म यहाँ आएकी थिएँ । त्यो दिव्य शान्तिको शहर यतै कतै छ कि भन्ने लागेको थियो । पहाडमा शान्ति हुन्छ । अझ हिमालमा हुन्छ दिव्य शान्ति । आफ्ना सपनाहरूसँग बाँच्नु छ भने एक्लै यात्रा गर र जिन्दगीलाई बोध गर । एक दिन सुटुक्क भनेको थियो आफ्नै हृदयले र म यहाँ आइपुगेकी थिएँ । तर यहाँ त मध्यरातमा राम्ररी सुत्न पनि पाइएन । यस्तो ठाउँमा समय खर्चिएर केको शान्ति मिल्छ खै ! भोलि त बिहानै बाटो लाग्नु उचित होला । यस्तै सोचेर म निदाउने प्रयास गर्छु ।
‘सुनिनस् तैंले उठ् भनेको ? उठेर हिंडी हाल् !’
मेरो निदाउने प्रयास फेरि भंग हुन्छ । उही आवाज मेरो मथिंगलमा पुनः गुञ्जिएर जान्छ । त्यो आवाज भौतिक थियो कि अभौतिक म छुट्याउन सक्दिनँ । बस् मस्तिष्क गुञ्जायमान भइरहन्छ ।
यो त अति भयो । यो मध्यरातमा कसले यस्तो गर्न सक्छ ? को हो मलाई सुत्न नदिने । म भुत्भुताउँदै बाहिर निस्किन्छु र वरपर हेर्न थाल्छु । त्यहाँ कोही देख्दिनँ । एक पटक आकाशतिर हेर्छु । आकाश कालो बादलले झन् झन् ढाकिंदै थियो । जसले रातभर हिउँ पर्ने संकेत गरिरहेको थियो । सडकका पोलमा बलिरहेका बत्तीहरू बाहेक अरू सबै शान्त थिए । बत्तीको उज्यालोमा हिउँ खसिरहेको प्रष्टै देखिएको थियो । तर यो मध्यरात्रिमा खसिरहेको हिउँसँग केको मोह ? म ओछ्यानमै गएर घुस्रिन्छु ।
‘सर्याक सर्याक । पट्याक पट्याक । मिलमिल ।’ निदाउन लागेको बेला फेरि अर्को आवाज गुञ्जिन्छ ।
यो मध्यरातमा को हिंडिरहेको होला ? के यसैले हो मलाई अघिदेखि उठाएको ? के भोलि उज्यालो हुँदैन ? यो रात्रिमा केको ङ्यार ङ्यार होला । मलाई मनमनै साह्रो रिस उठेर आउँछ ।
फेरि सर्याक सर्याक हिंडेको आवाज । उफ् यो त अति भयो । यसरी मध्यरातमा डिस्टर्ब गर्ने ? यहाँका मान्छेहरू के भएका ? के यो आवाज कसैले सुनेनन् ? कि यिनीहरूलाई बानी परेको छ ?
‘को हो हँ, यो बाहिर हिंडिरहने ?’ म कोठा भित्रैबाट कराउँछु । एकछिन वातावरण शान्त हुन्छ ।
‘एक पटक बाहिर आउनुस् न’ केहीबेर पछि कसैले विनम्र भएर भनिरहे जस्तो लाग्छ ।
‘किन आउने म बाहिर ? किन डिस्टर्ब गरेको यसरी ?’ म भित्रैबाट कराउँछु । लाग्छ ती जँड्याहा आँखा डाक्टरहरूमध्ये कोही एक हो । अथवा त्यो मलाई हेरिरहेको डाक्टर नै पनि हुनसक्छ ।
‘ठिकै छ नआउने भए त के जबरजस्ती गर्नु र !’ यति भनेर ऊ पुनः हिंड्न थाल्छ । ऊ हिंडेको आवाज मेरो कानमा ठोक्किइरहन्छन् । निकै बेरसम्म उसको हिंडाइको आवाज बन्द हुँदैन । एक पटक होटलको काउन्टरमा फोन लगाउँछु । फोन उठ्दैन ।
यस्तो हिउँ परेको रात्रिमा यतिका समय यसरी हिंडिरहने मनुवा आखिर को होला ?
अब भने मन नलागी नलागी म उठ्न बाध्य हुन्छु । आँखीझ्यालको पर्दा अलिकति उघारेर बाहिर हेर्छु । मेरो आँखा बाहिर उभिइरहेका एक जोडी पैतालामा ठोकिन्छन् । मैले थप नियालेर हेर्छु । ती गोडाहरू मलाई चिने जस्तो लाग्छ । चिने जस्तो मात्रै होइन परिचित र प्रिय अनुभव हुन्छ । कहीं न कहीं म ती पैतालाहरूसँग नजिक छु जस्तो लाग्छ । यो चिसोमा पनि उसले घुँडासम्म टाउजर खुम्च्याएर किन लगाएको होला ? उसको खुट्टामा देखिएका रौंहरूले ऊ आर्यपुरुष हो भन्ने कुरा प्रष्ट हुन्छ । त्यस्तो चिसोमा खाली खुट्टा उभिएका ती एक जोडी पैतालाले मलाई पूरै नियन्त्रणमा लिन्छन् ।
अब नजिकै राखेको ज्याकेट भिरेर म बाहिर निस्किन्छु ।
बाहिर निस्किनासाथ ती पैतालाहरू अगाडि बढ्न थाल्छन् । कन्ट्री भिल्लाको आँगन, सडक हुँदै कालिञ्चोक भगवतीको मन्दिरको उकालो उक्लिन सुरु गर्छन् । म तिनै पैतालाले च्याप्प हात समातेर ताने जस्तै तानिंदै जान्छु ।
को होला यो पूर्वकालीन मेरो कल्पनाको प्रेमी जस्तो आर्यपुरुष । यो लेकमा एकाएक कसरी हाजिर भयो उसको अवतार ? उसको अवतार मात्र होइन, मलाई सबैभन्दा बढी मनपर्र्नेे उसका गोडाहरू मात्र किन देखिरहेछु म ? जसलाई सम्झेर आज पनि आत्मविभोर भइरहन्छ मेरो आत्मा । मेरो आसक्ति त मेरै हो तर यो उसैको छायाँ जस्तो मानिस को होला ? जसका पाइलाहरूले मलाई यो बरफिलो रात्रिमा उकालो यात्रा गराउँदै लगेको छ ? म आफैंलाई सोध्छु र उसको पछि–पछि हिंडिरहन्छु ।
‘कुनै दिन तिमीले भनेकी थियौ नि, मलाई तिम्रा यी पाउहरू देऊ, म तिमीलाई मेरो जीवनको सम्पूर्ण जवानी अर्पण गरिदिन्छु’ केही माथि पुगेपछि उसले अनुहार नदेखाई भन्छ । यस्तो कुन समय भनियो, म उसले भनेको कुरा सम्झिन खोज्छु । केही याद आउँदैन ।
‘शायद भनेकी थिएँ होला तर त्यो मेरो प्रेमी हुनुपर्छ ।’
‘हो म तिम्रो त्यही हराएको प्रेमी हुँ, आज म तिमीले त्यतिबेला अर्पण गरेको त्यही प्रेमको आभा माग्न आएको हुँ ? के तिमीले मलाई त्यो सब दिन सक्छ्यौ ?’
‘यो कसरी सम्भव छ ? त्यो कथा धेरै पुरानो भइसक्यो ।’
‘कथा त पुरानो भयो तर मसँग जोडिएको तिम्रो आत्मा अझै उस्तै छ । मेरा पैतालाहरूलाई तिम्रो प्रेमले बन्दी बनाएको छ । आज पनि हिंड्न खोज्दा सधैं लड्खडाउँछन् मेरा पाइलाहरू । तिमीले मलाई त स्वतन्त्र गरिदियौ तर मेरा पैतालाहरूसँगको मोहलाई छोड्न सकिनौ ।’
‘त्यो मोह होइन प्रेम हो । प्रेमलाई मोह भनेर मिनीमाइज नगर ।’
‘कुरा एउटै हो । हेर न, तिम्रो प्रेमले जेलिएका मेरा पैताला कसरी स्थिर भएका छन् ?’
‘के यो सत्य हो ? कि म सपनामा भेटिरहेकी छु तिमीलाई ? यस्तो पनि हुनसक्छ ? यत्तिका वर्षपछि यो मध्यरात्रिमा तिम्रो स्थिर कायाकल्प कसरी उपस्थित हुनसक्छ ?’
‘सपना भने पनि विपनाकै प्रतिछायाँ हो । त्यसैले सपना र विपनाको सीमा कोरेर मनलाई विभाजन नगर, बरु मेरो जस्तै मेरा पैतालाको मोह पनि त्याग गर ।’
‘फेरि गलत भन्यौ । म तिम्रो पैतालाको मोहमा छँदै छैन । अँ प्रेम चैं भएको हुनसक्छ, किनकि बारम्बार स्मृतिमा आइरहन्छन् तिम्रा यिनै पैतालाका हिंडाइहरू ।’
‘अब त्यो स्मृतिलाई पनि विसर्जन गरिदेऊ र मुक्त होऊ अर्थात् मेरा हिंडाइहरूलाई मुक्त गरिदेऊ ।’
‘एउटा बञ्जर, रुखो र मरुभूमिको संसारमा विचरण गर्न आइपुग्ने पैतालाहरूलाई सजिलै कसरी विसर्जन गर्न सकिन्छ ! त्यो त एउटा अतुलनीय इतिहास हो । जसलाई मेटाउन सम्भव छैन । आज पनि मेरो मरुभूमि हृदयले कहिलेकाहीं अनुभव गर्छ ती हिंडाइहरू । म ती पैतलाहरूलाई पटक–पटक चुम्बन गर्छु । आँखाका नानीहरूमा टाँसिरहन्छु । घण्टौं सुमसुम्याउँछु र सन्तुष्ट हुने गर्छु । लाग्छ कुनै दिन तिमी मसँगै थियौ । साँच्चै भनुँ भने तिम्रो पाउमा एउटा तृप्तिको संसार छ । यो संसारमा केही कुरा सुन्दर छ भने त्यो तिम्रो आगमनको पदचाप छ । त्यो पदचाप निर्माण गर्ने आर्यपुरुषको अस्तित्व छ ! हुनत यो एउटा इतिहास भइसकेको कुरा हो । मलाई पछ्याउँदै माया गर्न आइपुग्ने ती सुन्दर पाउहरूको जीवन गाथा निकै फरक भइसकेको छ । अहिलेको स्थितिमा त्यसलाई प्रेमको एउटा मिठो परिभाषा मात्र बनाउन सकिन्छ तर समर्पणको सिंगो सभ्यतामा न म तिमीसँग हुन सक्छु, न तिम्रो पदचाप मसँग सुरक्षित रहन सक्छ । आँखामा राखूँ कि हृदयमा टासूँ जस्तो लाग्ने त्यो पवित्र चरणको एउटा अनुभूति मात्रै मेरो हृदयमा रहन सक्छ ।’
‘एउटा स्त्रीले कुनै पुरुषको चरणलाई प्रेम गर्नु र पुरुषले कुनै स्त्रीको सिउँदोलाई आफ्नो सम्झिनु यो संसारमा उत्तिकै भावात्मक र पवित्र समर्पण मानिन्छ । तर तिमीले नै त त्यो भावनात्मक पवित्रताको समर्पणमा संकुचित हुन मानिनौ ।’
‘आकाश जत्तिकै खुला हृदयमा जीवनपर्यन्त ओहोर–दोहोर गर्न चाहने मानिस हुँ म । तिम्रा चरण स्पर्श मेरो हृदयमा सुरक्षित छन् । मलाई त्यही काफी छ । त्यो पदचाप एउटा मृगतृष्णा बाँच्नुमा जुन आनन्द छ, त्यो कुनै प्राप्तिले वरण गर्न सक्दैन ।’
‘त्यो अप्राप्ति हो । त्यही अप्राप्तिले लखेटिरहन्छ तिमीलाई । र कुदिरहन्छ्यौ यसरी । यसले तिमीलाई रित्याउँदै छ । तिमी रित्तिंदैछ्यौ आफैंसँग ।’
‘यसरी रित्तिनुमा मलाई कुनै आपत्ति छैन बस् मलाई शान्ति चाहिएको छ । म मात्रै शान्त हुन चाहन्छु अब ।’
‘त्यसको लागि तिमीले मेरा पदचापहरू बिर्सनुपर्छ । तिम्रो हृदयले सम्हालेर राखेको चरण स्पर्शलाई मेटाइदिनुपर्छ र तिमीले त्यो बाटो देख्न सक्नुपर्छ जहाँबाट दिव्य शान्तिका लागि नयाँ यात्रा सुरु गर्नुपर्ने हुन्छ ।’
‘यसको मतलब मैले अझै त्यो बाटो देखेकी छैन ?’
‘यो तिम्रो पूर्व तयारी मात्र हो । जबसम्म तिम्रो हृदयमा मेरा पदचापको ध्वनि गुञ्जन्छन् सम्भवतः तिमी यात्राका लागि योग्य हुँदिनौ ।’
‘त्यो कसरी भन्न सक्छौ ?’
‘जसरी तिमी सबै कुरा छोडेर यहाँ आएर बस्यौ । यो चिसोमा एक्लै यहाँ आएर बस्नु र हरेक क्षण आफ्नो अन्तरात्मालाई नियाल्नु । तिम्रो शान्ति यात्रामा निस्कने पूर्व तयारी मात्र हो । यो एक महिनामा तिमीले हजारौं पटक आफ्नो अन्तरात्मालाई प्रश्न गरेकी छ्यौ । कि त्यो दिव्य शान्तिको शहर कहाँ छ ? कहाँ गएर यी पदचापका ध्वनि बन्द हुन्छन् । तर भोक, दरिद्रता, छल, कपट, स्वार्थ, हत्या, हिंसा जस्ता कुरुपताहरूको अस्तित्व रहने यो संसारमा, मोह विसर्जन सजिलो कुरा होइन । यी सब तिम्रा आत्मशुद्धिका सवाल मात्रै हुन् । त्यसको जवाफ त तिमीभित्रको अन्तरध्वनि नै हो जसलाई तिमी हरपल सुनिरहेकी छ्यौ । अब तिमी हिंड्नुपर्छ । मतलब तिम्रो चेतनाको यात्रा हुन जरूरी छ । ऊ त्यो पारि देखिएको उज्यालो क्षितिजमा पुगेपछि हुनसक्छ तिमीले शान्तिको शहर भेट्नेछ्यौ ।’
‘त्यो क्षितिजमा शान्तिको शहर भेटिन्छ भन्ने के ग्यारेन्टी भयो ? म पत्याउँदिन यस्ता बकम्फुसे कुरा, अब छोड मलाई ।’
‘मैले समातेकै कहाँ छु, हेर तिमी आफैं मेरो पदचापमा कसरी अल्झिएकी छ्यौ । मेरो हिंडाइहरूमा आफैं हिंडिरहेकी छ्यौ ।’
म झसंग हुन्छु । चिसोले मुटु टुकटुक कामिरहे जस्तो लाग्छ ।
साँच्चिकै मेरो आत्मा कसरी त्यो आर्यपुरुषको पैतालामा अल्झिएको । सम्भवतः यो एउटा समयले निर्माण गरेको भावनात्मक सामन्त हो । समर्पणको दास भएर उभिने भावना पनि त सपनाको एउटा कुरुप कैदी बन्दोरहेछ । यतिबेला मलाई मेरो हृदयबाट उक्त आर्यपुरुषको पदचाप कालिञ्चोक भगवतीको शिखरतिर उक्लिंदै गएको अनुभव हुन्छ । म कन्ट्री भिल्लाको रुम नम्बर २०१ भित्र निभेको हिटर पुनः बाल्न थाल्छु ।
from Online Khabar https://ift.tt/lmqr0ph
No comments:
Post a Comment