Saturday, September 2, 2023

हालान्डको ह्याट्रिकमा सिटीको शानदार जित

काठमाडौं । एर्लिङ हालान्डले ह्याट्रिक गरेपछि म्यानचेष्टर सिटीले प्रिमियर लिगमा शनिबार फुलहमलाई ५-१ ले पराजित गरेको छ । यस सिजन शतप्रतिशत नतिजा निकाल्ने एक्लो टोली बनेको सिटी चार खेलबाट १२ अंक जोडेर शीर्ष स्थानमा छ ।

घरेलु मैदान एतिहाड स्टेडियममा सिटीको सानदार जितमा हालान्डले दोस्रो हाफमा ह्याट्रिक गरेका थिए । त्यसअघि सिटीका लागि जुलियन अल्भारेजले ३१औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए ।

तर दुई मिनेटपछि नै फुलहमका टिम राएमले गोल गरी खेल बराबरीमा ल्याएका थिए । पहिलो हाफको इन्जुरी टाइममा नाथन एकेले गोल गर्दै सिटीलाई फेरि अग्रता दिलाए ।

दोस्रो हाफ हालान्डको नाममा रह्यो । ५८औं मिनेटमा पहिलो गोल गर्दै सिटीको अग्रता ३-१ बनाएका हालान्डले ७०औं मिनेटमा पेनाल्टीबाट व्यक्तिगत दोस्रो र सिटीका लागि चौथो गोल गरे । यतिमै नरोकिएका हालान्डले इन्जुरी टाइममा गोल गरी यस सिजन लिगमा पहिलो ह्याट्रिक पूरा गरे भने सिटीलाई ५-१ को जित दिलाए ।

टोटनहमले बर्नलीलाई ५-२ ले हरायो, सनको ह्याट्रिक

अर्को खेलमा कप्तान हेउन मिन सनले ह्याट्रिक गरेपछि लण्डन क्लब टोटनहमले बर्नलीलाई ५-२ ले पराजित गरेको छ । बर्नलीको मैदानमा चौथो मिनेटमै लाइल फोस्टरले गोल गरेपछि पछि परेको टोटनहमका लागि सनले १६औं मिनेटमा बराबरी गोल फर्काएका थिए ।

त्यसपछि उनले ६३औं र ६६औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे । टोटनहमका लागि क्रिस्टियन रोकेरो र जेम्स म्याडिसनले एक/एक गोल गरे ।

बर्नलीका लागि दोस्रो गोल जोस ब्रोनहिलले इन्जुरी टाइममा गरे ।

यस सिजन तेस्रो जितपछि चार खेलबाट १० अंक जोडेर टोटनहम दोस्रो स्थानमा उक्लेको छ । सिटीसँगै टोटनहम पनि अपराजित छ । अर्को अपराजित टोली वेष्टहम चार खेलबाट १० अंक भएपनि गोलअन्तरमा पछि पर्दै तेस्रो स्थानमा झरेको छ ।

चेल्सी पराजित

अर्को लण्डन क्लब चेल्सी भने घरेलु मैदानमै नटिङहम फरेस्टसँग १-० ले पराजित भएको छ । यस सिजन चेल्सीको यो दोस्रो हार हो ।

नटिङहम फरेस्टलाई जित दिलाउन एन्टोनी एलांगाले दोस्रो हाफमा गोल गरे । उनले ताइवो अवोयिनीको पासमा ४८औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए र त्यही गोल नटिङहम फरेस्टलाई ३ अंक दिलाउन निर्णायक बन्यो ।

चार खेलमा दोस्रो जित निकालेको फरेस्ट ६ अंक जोडेर नवौँ स्थानमा उक्लेको छ । चार खेलबाट ४ अंक मात्र रहेको चेल्सी ११औं स्थानमा छ ।

 



from Online Khabar https://ift.tt/tEJQrA5

No comments:

Post a Comment