१५ फागुन, काठमाडौं । दोस्रो हाफको इन्जुरी समयमको अन्तिममा प्रिती राईले गरेको गोलमा लेवानोन विरुद्ध २-१ को पुनरागमन जित निकाल्दै नेपाल साउदी अरेबियामा भइरहेको वाफ च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । नेपालले अब उपाधिका लागि साविक विजेता जोर्डनको सामना गर्नेछ ।
जेद्दाहस्थित किङ अब्दुल्लाह स्पोर्ट्स सिटी स्टेडिययमा भएको दोस्रो सेमिफाइनलमा नेपालले एक गोलले पछि परेको स्थितीबाट पुनरागमन गरेको हो ।
खेलको ३८औं मिनेटमा नेपालले आत्मघाती गोल गर्दै लेवानोनले अग्रता लिएको थियो । डिफेण्डर पुजा रानाले गोलकिपर एन्जिला तुम्बापोलाई दिएको ब्याक पास गोल हुादा नेपाल पछि परेको थियो ।
दोस्रो हाफमा नेपालले लगातार गोल फर्काउने प्रयास गर्यो । ७६औं मिनेटमा सावित्रा भण्डारीले नेपालका लागि बराबरी गोल गरिन् । सावित्राले रश्मी कुमारी घिसिङको पासमा गरेको प्रहार लेवानोनी गोलकिर लमिटाले रोकेपनि पूर्ण रुपमा क्लियर गर्न सकिनन् । रिबाउन्ड बल डिफेण्डर अमिनाले क्लियर गर्ने प्रयास गरेपनि सावित्राले चलाखीपूर्वक अघि बढ्दै गोल गरेकी हुन् ।
जारी प्रतियोगितामा नेपालले खेलेको चारै खेलमा गोल गरेकी सावित्राको यो नवौँ गोल हो । उनले पहिलो खेलमा सिरिया विरुद्ध १ गोल गरेकी थिइन् भने त्यसपछि इराक विरुद्ध ५ र प्यालेस्टाइन विरुद्ध २ गोल गरेकी थिइन् ।
निर्धारित समयमको खेल बराबरीतर्फ अग्रसर भइरहेको बेला प्रिती राईले अन्तिम समयमा गोल गर्दै जित दिलाइन् । ५ मिनेटको इन्जुरी टाइमको अन्तिममा नेपालले कर्नर पाएको थियो । कर्नर बल लेवानोनका खेलाडीले क्लियर गर्न नसकेपछि पेनाल्टी बक्स बाहिर प्रितीले प्राप्त गरिन् र उनले हानेको लङ सट सिधै गोलमा परिणत भयो ।
पहिलो पटक वाफ च्याम्पियनसिप खेलिरहेको नेपाल अब उपाधिबाट एक कदम मात्र टाढा छ । तर नेपालको अबको प्रतिद्वन्दी सर्वाधिक ५ पटकको विजेता तथा साविक विजेता जोर्डन छ ।
फाइनल पुगेपछि नेपालकी फरवार्ड सावित्रा भण्डारीले मैदानका कारण पहिलो हाफमा राम्रो खेल्न नसकेको बताइन् । ‘पहिलो हाफमा मैदानमा एडजस्ट हुन सकेनौँ र बल कन्ट्रो गर्न सकेन । पहिलो हाफमा केही कठिन भयो र दोस्रो हाफमा शतप्रतिशत दियौँ र नतिजा निकाल्न सफल भयौँ ।’ उनले जोर्डन बलियो टिम भएको र नतिजाका लागि फाइट गर्ने बताइन् । उनले विपक्षीलाई सम्मान गर्दै खेल्ने बताइन् ।
यस्तै गोलकर्ता प्रितीले पनि पहिलो हाफमा खेल्न कठिन भएको र दोस्रो हाफमा खेल्न सहज भएको र नतिजा आएको बताइन् । यस्तै प्रितिले आफ्नो गोल फिजियो नविनालाई समर्पण गर्ने पनि बताइन् । आफ्नो कठिन समयमा नविनाले धेरै सहयोग गरेको प्रितिले बताइन् ।
नेपाल र जोर्डनबीचको फाइनल खेल बिहीबार हुनेछ ।
from Online Khabar https://ift.tt/oL9EJTA
No comments:
Post a Comment