Wednesday, February 28, 2024

बेपत्ता युवक खोज्न सेती बाँध खोलिंदै, तल्लो तटीय क्षेत्रमा सुरक्षित रहन आग्रह

१७ फागुन, पोखरा ।पोखरामा माछा मार्ने क्रममा बेपत्ता युवकलाई खोज्न आज सेती नदीको बाँध खोलिने भएको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डीएसपी श्रवणकुमार बिकले आज बिहान ८ बजेदेखि दीपमा रहेको बाँध खोल्न लागिएको जानकारी दिए ।

प्रहरीले बाँध खोल्दा तल्लो तटीय क्षेत्रमा पानीको बहाव बढ्ने भएकाले सुरक्षित रहन पनि आग्रह गरेको छ ।’उक्त समयमा सेती नदीमा पानीको बहाव बढ्न सक्ने हुँदा वरिपरि काम गर्ने तथा आवतजावत गर्ने मानिसहरु चनाखो भई कार्य गर्नुहुन, नदीको किनारमा नजानुहुन र सतर्कता अपनाउनुहुन अनुरोध छ’, प्रहरीले सूचनामा भनेको छ ।

सेती नदीमा माछा मार्ने क्रममा फागुन १३ गते साँझबाट पोखरा १ सिम्पानीका सार्की (मानबहादुर) लामा तामाङ सम्पर्कविहीन छन् ।

१४ गतेबाट नेपाल प्रहरी, सशस्त्र प्रहरीका गोताखोरले खोज्दा पनि फेला नपरेपछि बाँध खोल्न लागिएको प्रहरीको भनाइ छ ।

पोखरा महानगरपालिका–१७ महतगौडास्थित सेती नदीमा माछा मार्ने क्रममा एकजना मृत फेला परेका थिए । मृत फेला पर्नेमा पोखरा १, कसेरी बस्ने ४० वर्षीय गंगा तामाङ छन् । सँगै माछा मार्न गएका तीन जनाको सकुशलै उद्धार हुँदा तामाङको अवस्था भने अहिलेसम्म अज्ञात छ ।

यसअघि मंसिर २८ गते पनि मणिपाल शिक्षण अस्पतालमा उपचाररत एकजना युवक सम्पर्कविहीन भएपछि उनको खोजीका लागि बाँध खोलिएको थियो । पछि उनी सेती नदीको नदीपुर क्षेत्रमा मृत फेला परेका थिए ।



from Online Khabar https://ift.tt/wsQcmVU

No comments:

Post a Comment