Sunday, February 4, 2024

क्यान्सर जितेका केसी विराटनगर सफाइ अभियानमा

२२ माघ, विराटनगर । विराटनगरका उद्धवबहादुर केसी (६०) बजारमा प्राय लाठी बोकेर हिँड्छन्, सडकमा थुपारिएका फोहोरको भिडियो बनाएर सामाजिक सञ्जालमा राख्नछन् ।

उनी भन्छन्, ‘यो विराटनगर होइन बुरा (खराब) नगर हो ।’ उनी महानगरवासीलाई घर आसपास सरसफाइका लागि प्रोत्साहित गर्छन् । सार्वजनिक ठाउँमा कसैले फोहोर फालेको देखेमा उसैलाई सफाइ गर्न लगाउँछन् ।

२०६४ सालदेखि केही वर्ष उनले मोटरसाइकलमा माइक जोडेर सरसफाइका लागि वडा-वडामा माइकिङ पुगे । दुई वर्षयता भने उनी बजार क्षेत्रमा पैदल अभियान चलाइरहेका छन् । आँखाले देख्ने कमजोरीको भिडियो खिचेर सुधारका लागि राज्यका निकायलाई झकझक्याउँछन् ।

‘विराटनगर त विराटनगर नै हो तर हामी सबैले बुरानगर बनाएका छौं’, उनले भने, ‘बुरानगरबाट विराटनगर बनाऔं भन्न खोजेको हो मैले ।’

उनी नगरमा हुने हरेकजसो सफाइ अभियानमा आफैं पुग्छन् । विद्यालयहरुमा पुगेर विद्यार्थीहरुमा सरसफाइसम्बन्धी चेतना जगाउने उनको योजना छ ।

सिरहाको सुखीपुर नगरपालिका- ६ मा जन्मिएका केसी बालकैदेखि सरसफाइमा रुचि राख्थे । ‘म सानैदेखि सफाइमा हुरुक्कै हुन्थेँ’, विराटनगर-५ बस्दै आएका केसी भन्छन्, ‘मलाई स्कुल पढाउने गुरुबाट सफाइ गर्ने प्रेरणा पाएँ ।’

अधिवक्तासमेत रहेका केसीलाई २०७६ सालमा मुखको क्यान्सर भयो । उनले क्यान्सर भएको थाहा पाउँदा क्यान्सर चौथो चरणमा थियो ।

कोरोना महामारी नियन्त्रणका लागि लकडाउन भएको बेला क्यान्सर पत्ता लागेका कारण उनले सुरुमा उपचार पाएनन् । पीडा सहेर बसे । कोरोनाको त्रास र क्यान्सरको पीडाका कारण कयौं रात निदाउन सकेनन् ।

लकडाउनका बेला संघर्ष गरेर उपचारका लागि भरतपुर क्यान्सर अस्पताल पुगेका उनले सुरुमा उपचार पाएनन् । ‘कोरोनाको त्रास धेरै थियो, मान्छे छेउछाउ आउनै डराउथे, भरतपुरमा दुई दिन भर्ना लिएनन्’, केसीले भने, ‘उपचार गर्नु, बाँचे र्फकन्छु, मरे भने परिवारले लैजान्छन्, यत्तिकै त जान्न भन्दै दुई दिन बसेपछि बल्ल उपचार सुरु भयो ।’

चौथो चरणको क्यान्सर भएका कारण सुरुमा चिकित्सकले उनलाई बाँच्दैनन् भनेका थिए । तर केसी आत्मविश्वासका कारण बाँचेको बताउँछन् ।

‘सबैभन्दा ठूलो म मा आत्मविश्वास थियो, क्यान्सर भन्दा ठूलो त्रास कोरोनाको थियो, उपचार गरिरहेँ’, उनले भने, ‘सँगै उपचार गर्ने धेरै बिते, आत्मविश्वासले गर्दा क्यान्सर जितिसकेको छु ।’

बुबा क्यान्सरले बिते, छोराले जिते

२०५० सालमा सिराहाबाट बसाइ सरेर विराटनगर आएका केसी २०५३ सालमा अध्ययन र रोजगारीका लागि अमेरिका पुगे । अमेरिकामा उनले दश वर्ष बिताए । अमेरिकाबाट उनले सिकेको पनि सरसफाइ नै हो । वकालत पेशा सुरु गरेपछि उनले खैनी चुरोट खान सिकेका थिए । अमेरिका जानुअघि नै उनलाई खैनीको लत लागिसकेको थियो ।

अमेरिकी बजारमा सहजै खैनी नपाएपनि भारतीय मूलका नागरिकले खोलेको रेष्टुरेन्टमा पाइन्थ्यो । उनले खैनी छाड्न कयौं पटक आफैसँग कसम खाए, ती कसम एक पटक भन्दै तोडिरहे । मुखमा घाउ हुँदा समेत खैनी खान छाडेनन् । खैनीकै कारण जागिरबाट पनि निकालिएका थिए ।

‘खैनीले फाइदा गर्दैन भन्ने थाहा थियो, तर छोड्ने कसम खाँदा पनि छोड्न सकिन त्यसबेला’, उनले भने, ‘खैनीकै कारण मृत्युको मुखमा पुगेर फर्किए, यो खाने चिज होइन ।’

क्यान्सर जितेपछि उनी अहिले खैनी चुरोटविरुद्धको अभियानमा पनि छन् । खैनी चुरोटकै कारण मृत्युको मुखमा पुगेर फर्किएका उनी अरुलाई नखान सल्लाह दिन्छन् ।

क्यान्सर जितेका केसीका बुबा विष्णुप्रसाद पनि खैनीका पारखी थिए । उनका बुबाको आहार नलीको क्यान्सरको कारण ८४ वर्षको उमेरमा मृत्यु भयो । बुबालाई उपचारका लागि भरतपुरमा राख्दा पनि आफूले खैनी छाड्न नसकेको उनको अनुभव छ ।

‘बुबालाई खैनीका कारण क्यान्सर भएपनि मलाई हुँदैन भनेर खाएँ, छोरीहरुले पटक पटक कोसिस गर्दा पनि छाड्न सकिन’, केसीले भने, ‘त्यस बेला मैले चेतिन, क्यान्सर भयो, अहिले पछुतो हुन्छ ।’

खैनी चुरोट रोकिदेऊ

क्यान्सरको कारणमध्येको एक खैनी चुरोटको बिक्री रोकिदिन उनी सरकारसँग माग गर्छन् । विराटनगर, काठमाडौंलगायत स्थानीय सरकारले खैनी चुरोट गुट्खाको बिक्रीमा लगाएको प्रतिबन्ध फुकाउने अदालतको आदेशप्रति उनी सन्तुष्ट छैनन् ।

‘जसले शरीरलाई नै बर्दाद गर्छ त्यस्ता चीजलाई बिक्रीमा रोक लगाउँदा न्यायाधीशले व्यापारी उद्योगीको पक्षमा फैसला गर्नु गलत हो’, उनले भने, ‘जसले सूर्तीजन्य पदार्थ आवश्यक छ भन्छन्, तिनले भरतपुर क्यान्सर अस्पताल र दिल्लीको राजीव गान्धी क्यान्सर अस्पताल पुगेर हेरुन् ।’

खैनी चुरोटको बिक्री र सेवन नगर्न उनी सबैलाई आग्रह गर्छन् । ‘खैनी चुरोट खाने चिज होइनन्, बरु दिसाले फाइदा गर्छ तर खैनी चुरोटले गर्दैन’, उनले भने ।



from Online Khabar https://ift.tt/xbtjpmy

No comments:

Post a Comment