Thursday, February 29, 2024

राहत सामग्री कुरेका प्यालेस्टाइनीमाथि हमला, १०० भन्दा बढीको मृत्यु

१८ फागुन, काठमाडौं । उत्तरी गाजामा राहत सामग्रीको पर्खाइमा रहेका सयभन्दा बढी प्यालेस्टाइनीको मृत्यु भएको छ । हमास नियन्त्रित स्वास्थ्य मन्त्रालयले इजरायली सेनाले राहत कुरिरहेका नागरिक मारिएको उल्लेख गरेको छ ।

प्यालेस्टिनी मिडियालाई उद्धृत गर्दै समाचार संस्था सिन्ह्वाले इजरायली सेनाले भीडमाथि गोली चलाउँदा २५० भन्दा बढी प्यालेस्टाइनी घाइते पनि भएको बताएको छ ।

मृतक र घाइतेहरूलाई अल-शिफा अस्पतालमा लगिएको छ । यद्पि सो अस्पतालमा चिकित्सा उपकरण र चिकित्सकको अभाव रहेको बताइएको छ ।

प्रत्यक्षदर्शीहरूले सिन्ह्वालाई बताए अनुसार इजरायली सेनाले गाजा शहरको पश्चिममा अल-राशिद स्ट्रिटमा नागरिकहरूको भेलालाई आक्रमणको निशाना बनाएको थियो ।

बीबीसीका अनुसार इजरायली सेनाको एक स्रोतले सैनिकहरूले आफ्नो ज्यान खतरामा परेको महसुस गरेकाले गोली चलाएको बताएको छ ।

यद्यपि, इजरायली सेनाले जारी गरेको आधिकारिक सन्देशमा ट्रकले किचेर दर्जनौं मानिसको ज्यान गएको बताइएको छ ।

बीबीसीले गाजामा रहेका एक पत्रकारको हवाला दिंदै मानिसहरू सहायता सामग्री संकलन गर्न आएका बेला इजरायली ट्याङ्कहरूले उनीहरूमाथि गोली चलाएको बताएको छ ।

सामाजिक सञ्जालमा शेयर गरिएको एक भिडियोमा मृतकको शव राहत सामग्री बोकेका खाली ट्रक र गाडामा राखिएको देखाइएको छ।



from Online Khabar https://ift.tt/fP6BHYK

No comments:

Post a Comment