Wednesday, March 6, 2024

लुम्बिनी कप महिला भलिबलको उपाधि एपीएफ क्लबलाई

२४ फागुन, पाल्पा । पाल्पाको रामपुरमा बुधबार सम्पन्न प्रथम लुम्बिनी कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि सशस्त्र प्रहरी बलको एपीएफ क्लबले हात पारेको छ ।

फाइनलमा एपीएफले बागमती प्रदेशलाई ३–२ सेटले पराजित गरेर उपाधि हात पारेको हो। रामतुल्सी माविको खेल मैदानमा सम्पन्न खेलमा एपीएफले २५–१९, २५–१७ र १८–१६ को सेटमा पराजित गरेको हो ।

पहिलो र दोस्रो सेट बागमती प्रदेशले २५–१८, २५–१७ मा जितेको थियो । तर, त्यसपछि तीनवटै सेटमा पराजित भयो । बागमती क्लबकी रीमा कुंवर फाइनल खेलको प्लेयर अफ द म्याच बन्न सफल भइन् ।

विजेता एपीएफले नगद दुई लाख ५० हजार, ट्रफी, मेडल, प्रमाणपत्र प्राप्त गरेको आयोजक जिल्ला भलिबल संघ पाल्पाले जनाएको छ । उप विजेतामा भएको बागमती प्रदेशले एक लाख ५० हजार नगदसँगै ट्रफी, मेडल, प्रमाणपत्र पायो ।

एपीएफले कोशी प्रदेशलाई र बागमतीले लुम्बिनी प्रदेशलाई पराजित गरेर फाइनल प्रवेश गरेका हुन् ।

सोझो सेटमा कोशी प्रदेशलाई पराजित गरेर लुम्बिनी तेस्रो बन्यो । उसले २५–१०, २५–१६ र २५–२२ को सेटमा पराजित गरेको छ । लुम्बिनीकी मीना सुनार खेलको प्लेयर अफ द म्याच भइन् ।

तेस्रो भएसँगै लुम्बिनीले नगद ७५ हजार, ट्रफी, मेडल, प्रमाणपत्र पाएको छ । सान्तवना पाएको कोशीले नगद ३५ हजारसहित ५० हजार, ट्रफी, मेडल, प्रमाणपत्र पाएको छ ।

प्रतियोगितामा उत्कृष्ट स्पाइकर लुम्बिनीकी मीना सुनार, उत्कृष्ट सेटर बागमतीकी प्रगति नाथ, उत्कृष्ट डिफेन्डर बागमतीकै सलिना श्रेष्ठ, उत्कृष्ट ब्लकर एपीएफकी निरुता ठगुन्ना, उत्कृष्ट खेलाडी एपीएफकी सरस्वती चौधरी भइन् भने उत्कृष्ट कोच एपीएफकै महेश चौधरी भएको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दीपक घिमिरेले जानकारी दिए ।

प्रतियोगितामा एपीएफ क्लव, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश, बागमती प्रदेश, सुदूरपश्चिम प्रदेश, मधेश प्रदेश र कोशी प्रदेशले सहभागीता जनाएका थिए ।



from Online Khabar https://ift.tt/FM4nVSA

No comments:

Post a Comment