Monday, March 4, 2024

सुखानीले ल्याएको उलटफेर र एमाले युग

जनदबाबका कारण नेपालमा लोकतान्त्रिक गणतन्त्र स्थापना हुनु, माओवादीले हत्याहिंसा र ज्यादतिको राजनीति छोड्नु, रवि लामिछाने, बालेन शाह र हर्क साङपाङ प्रवृत्तिले निष्ठाको राजनीतिको धज्जी उडाउँदै त्याग, लगाव, निष्ठा, वलिदान र विचारविना पनि २०६४ सालका माओवादीहरु जस्तै राजनीतिको मञ्च कब्जा गर्न सक्नु यी महत्वपूर्ण सूचक हुन् ।

यस्तै तमामखाले जब्बर अवसरवादका खाडलहरु जनताको जागरण र शक्तिको आडले पुरताल गर्दै विगत तीन दशकमा समग्रमा एमाले युग स्थापित हुनु यी सबै घटनावलीहरु सुखानीमा बगेको शहीदहरुको रगतले ल्याएको उलटफेरका यो वा त्यो प्रकारका सूचकहरु हुन् ।

चेतनास्तरमा आउने गिरावटले समाज कहिलेकाहीँ निष्ठाको लोडसेडिङको शिकार हुन्छ । जस्तो कि २०७९ सालको चुनावमा सुखानी भनेको कहाँको सुनखानी परेछ भन्न पछि नपर्ने रवि लामिछाने, बालेन शाह, हर्क साङपाङ सामु सुखानीका शहीदहरुका रक्तवीजहरुको पार्टी एमालेको केही क्षण जोर नचल्नु त्यसको दृष्टान्त हो ।

महानदीलाई खहरेले क्षणिक रुपमा धक्का दिन्छ । ताल फुटेर आएको बाढीले महानदीलाई छायाँमा पार्छ । प्रकृतिमा देखिने यी क्षणिक उपद्रवहरु राजनीतिमा पनि आउँछन् र हराउँछन् । महाभारतका अजेय योद्धा अर्जुन यदुवंशी संहारपछि भिल्लसँगको युद्धमा पराजित भएको हालतमा पुग्छन् । जब ब्यास ऋषिबाट पाँचै भाइ पाण्डव समय सकिएको र सन्दर्भ सकिएको भेउ पाउँछन् अनि पत्नी द्रौपदी सहित राजनीतिबाट सन्यास लिएर हिमालयतिरको महाप्रस्थानमा जान्छन् ।

३६ वर्षीय नाति परीक्षितलाई नेतृत्व हस्तान्तर भएपछि हस्तिनापुरमा पुस्तान्तरणको पनि जादू चल्यो । बुढापाकाहरु अहंकार र अकर्मण्यताले २०६४ सालमा डुबेको एमाले जहाजको राजनेता ओली युवा पुस्ता अनन्त प्रेरणा र हौसला प्रदान गरेर फेरि सही लयमा ल्याएको उदाहरण हाम्रा सामु छ ।

एउटा गौरवशाली विरासतहरु बोकेको शक्ति युवाहरुको नाममा जब २५ वर्षमाथिका अर्धवृद्धको भरपर्छ र २५ वर्ष मुनिका सक्कली युवापुस्तालाई आफ्नो गौरवशाली विचार, विरासत, त्याग, धैर्य, निष्ठा र अनुशासनमा अपनत्ववोध र श्रद्धालु बनाउन पछि पर्छ तब लज्जाजनक हारको सामना गर्नुपर्ने हुन्छ ।

२०६४ सालको चुनाव र २०७९ सालको चुनाव एमालेले हार्नै नहुने राष्ट्रिय महत्वका प्रकारान्तरका युद्ध थिए । आज शहीद नभएको पार्टी राष्ट्रिय स्वतन्त्र पार्टी र युवाहरुको राजनीतिक दायित्वबाट को पन्छिनमा आएको जुन सुनामी छ, हाम्रा वीर अग्रज शहीद र उहाँहरुको सहादत, त्याग र निष्ठाप्रति हमला हो, अपमान हो र अनादर पनि हो । राजनीति गर्दा बलिदान बिर्सनु र निष्ठालाई कमजोर ठान्नु स्विमिङ पुलमा आनन्द उठाइरहेकाले विद्युत आयोजनाको ड्यामसाइडको महत्व नबुझ्नु जस्तै हो ।

अवसरवाद फापेको, निष्ठा र त्याग अबान्छित मानिएको र राजनीति व्यापारीको कब्जामा गएको राज्यसत्ताका कारण निष्ठाको राजनीति अस्थायी धक्का खान बाध्य छ । विश्रृंखलित वर्तमान स्विमिङ पुलमा रमाइरहेको युगल जोडी हो भने सुखानीका शहीदहरुको सहादत र झापा आन्दोलन विद्युत आयोजनाको ड्यामसाइड हो ।

सक्कली आमालाई मात्र सन्तानप्रति साँचो माया हुन्छ । नेकपा (एमाले) नै हाम्रो लोकतान्त्रिक व्यवस्था, हाम्रो लोकतान्त्रिक आन्दोलन, जनताको नाममा शासन गरिरहेको सरकार र प्रतिष्पर्धारत राजनीतिक दललाई जनताको पक्षमा सदुपयोग गर्न बढी संवेदनशील हुनुमा झापा आन्दोलनदेखिको वलिदानीपूर्ण इतिहास, जनपक्षीय छवि र सङ्लो दिलले काम पाएको छ ।

बलिदानीको इतिहासमा सुखानीका शहीदहरुको सहादतको विशिष्ट स्थान छ । २०३० साल फागुन २१ गते निरंकुश पञ्चायती व्यवस्थाको खुनी सरकारले झापा र इलामको सीमा क्षेत्रमा रहेको सुखानीको जंगलमा जेल सार्ने निहुँमा रामनाथ दाहाल, नेत्र घिमिरे, नारायण श्रेष्ठ, विरेन राजवंशी र कृष्ण कुइँकेल नेपाल आमाका पाँच जना वीर सपुतहरुलाई गोली हानी हत्या गर्यो ।

यो व|mुर र अमानवीय कृत्य पञ्चायती कालरात्रीको अन्त्य र जनताको राजको बहालीलाई सुगम तुल्याउने घटना थियो । एक पाहुनाको रुपमा अवसरवादले स्थान पाए पनि आज मूलतः जागेका जनता, जनताको राज, विचारको राजनीति, निष्ठा, त्याग, लगाव, अनुशासन, धैर्य र सौर्यको महत्ताको जुन नौलो युग आएको छ, यो सब झापा सशस्त्र जनविद्रोह र सुखानीका शहीदहरुको सहादतले ल्याएको उलटफेरको परिणाम हो ।

झापा आन्दोलन नेपालको लोकतान्त्रिक आन्दोलनको मियो हो । किनकि झापा आन्दोलन नै त्यस्तो गौरवशाली आन्दोलन हो, जसले शासक र जनआन्दोलनकारी शक्ति दुवै शक्तिको मुटुमा ढ्यांग्रो ठोकिदिएको थियो । झापा आन्दोलनले नै नेपालको लोकतान्त्रिक आन्दोलनलाई जनताको साथ र जनताको काखको कला र करामत सिकायो ।

नेपाल-केन्द्रित र जनमुखी झापा आन्दोलन नै त्यो चुम्बक थियो, जसले भारत निर्वासनमा रहेर भारतीय शासक वर्गको कुटिलता नबुझी उनीहरुकै मुख ताकिरहेका बीपी कोइराला नेतृत्वको नेपाली कांग्रेस पार्टीलाई मेलमिलाप नीतिको मुखौटो लगाएर नेपाल र्फकन बाध्य पारेको थियो ।

झापा आन्दोलन नै त्यो क्रेन थियो, जसले नैनी तालमा रहेर जलजलासँग रोमान्स गरिरहेका र आरामले त्यही नामको उपन्यास लेख्ने सुरसारमा रहेका गुरु मोहनविक्रम सिंह र चेला प्रचण्ड प्रवृत्तिलाई भाग खोज्न र अवसरवादमा महारथ हासिल गर्नकै लागि भए पनि नेपालको भूमिमा पाइला टेक्न बाध्य हुने गरी तानेको थियो ।

झापा आन्दोलन यस्तो बेला उठेको थियो कि जति बेला पञ्चायती दमनचक्र सामु टिक्न नसकेर नेपाली कांग्रेसका नेताहरु र अन्य वामघटकका नेताहरु पञ्चायत प्रवेश गर्ने लहर चलेको थियो । तीमध्ये केही नेताहरु संविधान मान्ने छु, कानुन बमोजिम चल्ने छु भन्ने भाका कबोल भएको कागजमा ल्याप्चे हानेर जेलमुक्त हुने प्रतिकूल भन्दा प्रतिकूल, खराब भन्दा खराब समय थियो त्यो ।

झापा आन्दोलन पछि जनआन्दोलनकारी शक्ति बलियो हुँदै गयो । एक टोल, एक संगठनको साँचोमा ढालेर जनताको शक्ति सुदृढ गर्ने हिम्मत नेपालको लोकतान्त्रिक आन्दोलनको इतिहासमा झापाली विद्रोहीहरुले मात्र राखे । झापाको उर्वर पावनभूमिले नै नेपालमा जनताको राजनीति पहिलो पटक स्वाभिमानी अर्थतन्त्रको मेरुदण्ड प्रदान गर्यो ।

२०३५ मा नेकपा (माले) स्थापना गरेर झापाली विद्रोहीले गुटफुटमा फसेको नेपालको कम्युनिष्ट आन्दोलनलाई पुनर्एकीकरणको गति र दिशा प्रदान गरे । नेकपा -माले) को उदयले नेपालको राजनीतिमा हालिमुहाली गरेर जनतामाथि पालैपालो दमनचक्र चलाइरहेका दरबार, दिल्ली र नेपाली कांग्रेसमाथि दबाब सृजना भयो । जनवर्गीय संगठनमा जोड दिएर जनताको शक्ति सुदृढ पारेपछि नेपालमा नेकपा (माले) जनताको आशा र भरोसाको केन्द्र बन्यो ।

नेकपा (माले) २०३६ सालमा राजा जनमत संग्रह घोषणा गर्न बाध्य भए । नेकपा (एमाले) को पूर्वरुप नेकपा (माले) को बलियो संगठन र बलले गर्दा २०४६ सालको जनआन्दोलन सफल भयो । २०१७ सालमा राजा महेन्द्रबाट फ्याँकिएको कांग्रेसले २०४७ सालदेखि २०५१ सालमा सत्तामा रहेर जनताको मन जित्ने खालका कार्यक्रम दिन सकेन ।

२०४७ साल मंसिर २२ गते आधुनिक नेपालको निर्माता शक्ति नेकपा (एमाले) को स्थापना भयो । गौरवशाली इतिहास बोकेको नेपाल कम्युनिष्ट पार्टीका दुई घटक नेकपा (माले) र नेकपा (मार्क्सवादी) एकीकरण भए ।

युवावयका कुशल संगठक, अद्वितीय चिन्तक एबं प्रखरवक्ता नेकपा (माले)का महासचिव मदन भण्डारीले त्याग देखाएर दुई कम्युनिष्ट तीन चिराको उल्टो चक्रपात रोकेर यो मातृभूमिको पोल्टामा अटल सौभाग्य थमाइदिनु भयो ।

आफ्नो नाम वा जात झल्कने गरी पार्टी नामका पसल थाप्ने होड चलेको बेला ऊर्जाशील युवाहरुको पार्टी नेकपा (माले)को एक नम्बर वरियताक्रमको स्थान त्यागेर नेकपा (एमाले)को दुई नम्मर वरियताको महासचिवमा रहने तत्परता र उत्कृष्ट पहलले मदन भण्डारीलाई ३८ वर्षको उमेरमै गणेशमान सिंह, मनमोहन अधिकारी, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला जस्ता सिंगो जीवन राजनीतिमा समर्पित गरेका वयोवृद्ध राजनेताहरुको हाराहारीमा पुर्याइदियो ।

जीवनको उत्तरार्धमा लगभग एक्लिएका मनमोहन अधिकारीलाई एमाले जस्तो ऊर्जा र भविष्य बोकेको पार्टीको अध्यक्ष बनाउने मदन भण्डारीको त्यही सुझबुझका कारण देशले २०५१ सालमा मनमोहन अधिकारी जस्तो लोकपि्रय र जनमुखी प्रधानमन्त्री पायो । राजनीति भनेको ग्रामप्रमुख नगरप्रमुख, सांसद, मन्त्री र राजा महाराजाहरुको सवारी र शान प्रदर्शन गर्ने थलो होइन, जनताको सेवा हो भन्ने सत्यको नयाँ क्षितिज एमालेको नौ महिने सरकारले उघारिदियो ।

राजनीति राज्यको कोष र जनताको काख जोड्ने कला र साधना हो । मन, वचन, कर्म र आचरणले एमाले यही सत्यलाई सिद्ध र स्थापित गर्न दृढ संकल्पित छ । एमाले महाविद्यालयले युवाहरुको हरेक पुस्तालाई यही शिक्षाले दीक्षित गर्दै आएको छ ।

मनमोहन अधिकारी नेतृत्वको नौ महिने सरकारले जनताको राजको असली चाल, चेहरा र चरित्र निर्धारण गरिदियो । यसरी झापा आन्दोलन र सुखानीका शहीदहरुको सहादतको आलोकमा उठेको एमालेले आज जनताको सर्वाेच्चता स्थापित गरेको छ र यसको अपरिहार्य औचित्य सिद्ध गरेको छ ।

झापा आन्दोलन नै २०४६ सालको युगान्तकारी जनआन्दोलन र २०६२-६३ को जनआन्दोलन रुपी बागबानीको नर्सरी थियो । भनिन्छ समुद्र मन्थन पछि विष, कामधेनु, उचैश्रवा, ऐरावत, कस्तुकमणि, कल्पवृक्ष, रम्भा, लक्ष्मी, वारुषि (मदिरा) चन्द्रमा, पारिजात (पुष्प) पाञ्चजन्य शंख, धनवन्तरी र अमृत गरी १४ वटा रत्न मिलेका थिए ।

झापा आन्दोलनपछि पनि मातृभूमि नेपाल र जनता जनार्दनको पोल्टामा पनि केही अमूल्य रत्नहरु परेका छन् । नेकपा (एमाले) जस्तो जनाधारित राजनीतिक दल, मार्क्स, लेनिन, मन्टेस्क्यु, बुद्ध, चाणक्य र महात्मा गान्धीका मतको विविधता र गुणको दही मथनी गरेर प्रतिपादन गरिएको जनताको बहुदलीय जनवाद जस्तो विचार जन्मियो ।

त्यति मात्रै होइन जननेता मदन भण्डारी जस्तो राजनेता र चिन्तक, लोकतन्त्र, लोकतान्त्रिक व्यवस्था र सरकारलाई चिसा चुला र जनताको दिलसँग जोड्ने मनमोहन अधिकारी जस्तो जनपि्रय प्रधानमन्त्री, राजनेता केपी ओली जस्तो हस्तक्षेपलाई घुँडा टेकाउने देशभक्त नायक यी सबै विरासतहरु आधुनिक नेपालका महानतम उपलब्धि र प्राप्ति हुन् ।

यी सबै अनमोल रत्नहरुको जग र तागत सुखानीमा बगेको रगतको शहीदहरुको तागत हो । तर यो जीवित सत्यलाई नेपाली राजनीतिका अस्थायी तर भीआईपी पाहुनाहरु- अवसरवाद र अवसरवादीहरु मान्न र जान्न तयार छैनन् । विनाशकाले विपरीत बुद्धिले क्षणिक रुपमा नोक्सान सुरुमा सबैलाई पुग्छ तर सत्यको अनादर गर्ने खलपात्रहरु जनताबाट दण्डित भएरै छाड्छन् ।

विश्वभरिका लोकतान्त्रिक पार्टीहरु र वामपन्थी पार्टीहरुले नेकपा -एमाले)लाई एक असल भाइचारा पार्टी र शक्तिको रुपमा मान्यता दिएका छन् । यो एमाले विचार, जनाधार र सदाचारको त्रिवेणी हो । जनसमुदाय र विश्वसमुदायको नजर एमाले एक भरपर्दो शक्ति हो । जनताको बहुदलीय जनवादको मार्गदशनले गर्दा एमालेको छवि, गति र लय वृद्धि भएको हो ।

मार्क्सको वर्गसंघर्ष र द्वन्द्वात्मक भौतिकवाद, लेनिनको संगठनात्मक सिद्धान्त, मन्टेस्क्युको शक्ति पृथकीकरणको सिद्धान्त, बुद्धको पञ्चशील र सत्य, दया, क्षमा, त्याग र अहिंसाको स्थायी राज, चाणक्यको राष्ट्ररक्षा कला, महात्मा गान्धीको शान्तिपूर्ण जनआन्दोलनको शक्तिलाई कतै एकैसाथ स्थान दिइएको र न्याय गरिएको छ भने त्यो जननेता मदन भण्डारीको सर्वोत्कृष्ट देन- जनताको बहुदलीय जनवादमा छ ।

विलक्षण प्रतिभा जननेता मदन भण्डारीले मार्क्सवादको पुनर्व्याख्या गरेर रक्षात्मक अवस्थाको विश्व वामपन्थी आन्दोलनलाई बिर्सिन नसकिने र बिर्सन नहुने गुन लगाउनु भएको छ । चाणक्यले औंल्याएको राष्ट्ररक्षाको लागि चाहिने शास्त्रबलको जिर्णोद्धारको पोषण मातृभूमि नेपालले जनताको बहुदलीय जनवादको प्रतिपादन भएसँगै पायो ।

खासगरी नेपालको संविधान २०७२ को घोषणासँगै मातृभूमि नेपालको खड्को टरेको छ । जनताको बहुदलीय जनवाद जस्तो विचार भएको एमाले जस्तो शक्ति नभएको भए गृहयुद्धको अन्त्य, शान्ति स्थापना, दोहोरा तानाशाही उत्पादन गर्नै कारखाना- राजतन्त्र र माओवादी अधिनायकवादको अन्त्य र धमिलो पानीमा माछा मार्ने भारतीय अभिष्ट असफल हुने थिएन ।

विचार बासी हुँदैन । बासी हुने कुरा विचारको दर्जामा पुग्दैन । सत्य यस्तो भए पनि स्यालहरु जनताको बहुदलीय जनवाद सामु टिक्न बस्न नसकेर सबैखाले विचारको सान्दर्भिकता सकिएको स्यालहुइयाँ मच्चाउँदै छन् । उनीहरुलाई थाह छ- विचार र नैतिकताको टाटपल्टाइँको मलजलमा झांगिने गर्छ अवसरवाद । निष्ठा र अवसरवादको हार-जीत चक्र जस्तै घुम्छ । भाङ र धतुरो जस्तै हर्लक्कै बढ्छ, चाँडै मर्छ- अवसरवाद । वटवृक्षझैं ढिलो बढ्छ तर सदावहार हुन्छ- निष्ठाको गुण र गति ।
जनताको जागरण, जनताको शक्ति, युगको साउती नबुझ्ने अवसरवादीहरु कालान्तरमा जनताको तिरस्कारमा पर्छन् । आज जनताका सचेत र असल सन्तानहरु आफ्नो पूजनीय मातापिता भन्दा माथि राखेर बीपी, पुष्पलाल, गणेशमान, मनमोहन, मदनलाई प्रातः स्मरणीय मान्छन् र छातीमा लकेट लगाउँछन् ।

अवसरका पछि कुदेर जनताको शक्तिसँग जोरी खोज्ने मात्रिकाप्रसाद कोइराला र सूर्यबहादुर थापालाई सम्झिदिने कोही छैन । लकेट लगाइदिने त कुरै भएन ।

हुँदाहुँदा मात्रिकाप्रसाद कोइरालाका छोरा कमल कोइराला कम्युनिष्ट बने भने सुबथा (सूर्यबहादुर थापा) पुत्र सुनिल थापा कांग्रेसमा ओत लाग्न पुगेका छनु ।

एकै दिनमा जन्मिएको भए पनि घोडाको बच्चाले कयौं कोसको यात्रा गरिसक्दा पनि बिरालाको बच्चाको आँखा उघ्रेको हुँदैन र डेग चलेको हुँदैन । प्रतिभा र परिपक्वताको गति र अदूरदर्शी एवं चरम महत्वाकांक्षीको गतिहीनताको हकमा पनि यस्तै हुन्छ .

२०४९ सालतिर जननेता मदन भण्डारीले यो मुलुकको व्यापक बर्बादी र संभावित रक्तपातलाई रोक्न लोकतन्त्रवादीहरुको सहकार्य र सहअस्तित्वको फहराएको झण्डाको रुपमा जनताको बहुदलीय जनवाद प्रतिवादन गर्दे गर्दा आजको कुर्सी छोप्ने होडका पारंगत खेलाडी शक्ति कांग्रेस र माओवादीको हालत पनि त्यति बेला आँखा नउघि्रएको बिरालो बच्चाको जस्तो थियो ।

‘गोलीका आँखा हुँदैनन्’ यो कथन कांग्रेसका तत्कालीन सर्वोच्च नेता गणेशमान सिंहको हो । यसो भनिरहँदा शेरबहादुर देउवामा विरोधी कम्युनिष्टहरुलाई बन्दुकबाट नै भुट्न सकिन्छ भन्ने विजय उन्माद भरपूर थियो ।

कांग्रेस र माओवादीका कारण अकालमै मट्टी हुन पुगेका ज्ञात अज्ञात शहीदहरुको रगतमासले कुकृत्यका कर्ताहरुलाई क्षमा दिने छैन । जनताको अदालतमा हरेको कृत्यको हिसाबकिताब रहेको हुन्छ । जब पापप्रति प्रायश्चित हुँदैन, अद्यावधिक गरिएको हिसाबकिताब कर्तालाई निकै महंगो पर्छ ।

कुनै बेला एमालेमाथि एक्लाएक्लै भारी पर्ने कांग्रेस र माओवादी शक्ति आज शक्ति क्षय भएर गठबन्धनको वैशाखी टेक्न बाध्य हुनु जनताको कोप कति शक्तिशाली र निर्मम हुन्छ भन्ने सच्याइको दृष्टान्त हो ।

बलिदान र निष्ठाको तेजोवध गर्नमा कांग्रेस र माओवादी होड छ । सत्यमाथिको यसप्रकारको हमलामा दुबै दलको अवसरवादी राजनीति र एमालेका प्रतिको जलनले काम पाएको छ । निष्ठाको विस्मृतिमा मात्र सबै उस्तै हुन् भनेर भ्रम छर्न सकिन्छ भन्ने ज्ञान प्रकट र छद्म दुबै खाले पीडकहरुलाई थाहा छ । नयाँ दल नामका अवसरवादका प्रतिमाहरुले पनि निष्ठा र विचारको राजनीति आफूहरुको चिहान हो भन्ने थाह छ ।

कुनै पनि रुपरंगका घेराबन्दीले एमालेको सुखी नेपाली र समृद्ध नेपालको तप भंग र यज्ञ विध्वंश गर्न सक्ने छैन । निष्ठा नबुझ्ने, उधारो नरुचाउने, त्याग कुन चरीको नाम हो थाह नपाउने अराजक र अवसरवादी जमातलाई अपच भए पनि आधुनिक नेपालको सर्वश्रेष्ठ निर्माताको नाम नेकपा (एमाले) हो । नेकपा (एमाले)लाई विचार राजनीतिको सदावहार महारथि बनाउनुको श्रेय जननेता मदन भण्डारी जान्छ ।

शान र शौकत प्रदर्शनको थलो बनेको सत्ता राजनीतिलाई जनताको सेवाको औजार बनाउनुको श्रेय मनमोहन अधिकार र एमालेको नौ महिने सरकारलाई जान्छ ।

सरकारमा रहेर होस् वा घेराबन्दीमा परेर विपक्षमा धकेलिनु पर्दा नै किन नहोस् एक लौहपुरुषले महाशक्तिको रुचि र प्रपञ्चलाई माथ खुवाउदै राष्ट्ररक्षा गर्न सक्छ भन्ने जिउँदो जाग्दो राजनीतिक नजीर स्थापना गर्नुको श्रेय राजनेता केपी ओलीलाई जान्छ ।

यस हिसाबले नेकपा (एमाले) नै मातृभूमि नेपालको सर्वश्रेष्ठ सेवक हो र सर्वश्रेष्ठ रक्षक हो । मदन, मनमोहन र ओली शिष्यहरु नै आधुनिक नेपालका सच्चा सारथि हुन् । सबैभन्दा जीवित सत्य के हो भने झापा आन्दोलन र सुखानीका शहीदहरुको सहादतले खडा गरेको धरातल नै आजको एमाले र आधुनिक नेपाल उभिएको धरातल हो ।

(शाही नेकपा एमालेका नेता हुन् ।)



from Online Khabar https://ift.tt/ZfXqVC8

No comments:

Post a Comment