Friday, March 11, 2022

भन्सार एजेन्टको परीक्षा स्थगित

२८ फागुन, काठमाडौं । आज दिउँसोका लागि तय भएको भन्सार एजेन्टको परीक्षा स्थगित भएको छ ।

उच्च अदालत पाटनले दिएको अल्पकालीन अन्तरिम आदेशअनुसार भन्दै भन्सार विभागले परीक्षा स्थगन गरेको हो । विभागले अर्को सूचना नभएसम्मका लागि परीक्षा नहुने जनाएको छ ।

परीक्षा आज दिउँसो २ बजेका लागि तय गरिएको थियो ।

बिहीबार न्यायाधीश भोजराज अधिकारीको एकल इजलासले चैत ६ गतेसम्मका लागि परीक्षा स्थगित गर्न आदेश दिएको थियो ।

भन्सार विभागले प्रकाशित गरेको सूचना नेपालको संविधानको धारा ४२ अनुसार समानुपातिक/समावेशी नभएको भन्दै कृष्टिना थैवले भन्सार विभागलाई विपक्षी बनाई एक वर्षअघि रिट दायर गरेकी थिइन् ।

रिट निवेदकले माग गरे बमोजिम अन्तरिम आदेश दिने कि नदिने भन्ने सम्बन्धमा दुवै पक्षसँग छलफल गर्न उपयुक्त हुने भन्दै अदालतले आगामी चैत ६ गते अदालतमा उपस्थित हुन विपक्षीको नाममा आदेश दिएको छ ।

२२ जेठ २०७८ मा पनि कोरोना संक्रमणका कारण देखाएर परीक्षा स्थगित गरिएको थियो । त्यसपछि फेरि २९ माघ २०७८ का लागि तोकिएको परीक्षा पनि स्थगित भएको थियो ।

पुराना भन्सार एजेन्टको स्वार्थमा परीक्षा लिन विलम्ब गरिएको भन्दै आवेदकहरूले यसअघि भन्सार विभागमा धर्नासमेत दिएका थिए ।

१७ चैत २०७७ मा भन्सार एजेन्टको इजाजतपत्रका लागि दरखास्त आवेदन माग गरिएको थियो । ६६० पदका लागि साढे ९ हजारले आवेदन दिएका छन् । भन्सार एजेन्टहरुले निकासी र पैठारीकर्ताको काममा सहजीकरण गर्छन् ।



from Online Khabar https://ift.tt/kof2qPC

No comments:

Post a Comment