‘महिलालाई हरायो भने दुनियाँले के भन्लान् ? लाज हुन्छ।’ यो हो केही समयअघि चितवनको चुनावी सभामा जनतालाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले दिनुभएको वक्तव्य। प्रधानमन्त्रीले आफूले निर्वाचनमा उठाउनुभएका दुई महिला पात्रलाई लक्षित गरेर, उनीहरूले चुनाव हारे भने सम्पूर्ण महिलाको हार हुनेछ, लाज हुनेछ भन्ने कुरा उल्लेख गर्ने क्रममा माथिको वक्तव्य दिएका हुन्। यो सुन्दा मलाई बडो अचम्म लाग्यो। प्रधानमन्त्री राष्ट्रको अवस्थाबारे कति अनभिज्ञ हुनुहुँदोरहेछ। उहाँलाई त केवल चुनावमा केही महिला प्रतिनिधिले हार्दा मात्र राष्ट्रमा महिला हार्छन् भन्ने लाग्दो रहेछ। उहाँलाई यो राष्ट्रमा माहिला हार्दै आएको कुरा थाहा नै रहेनछ। त्यसैले, म प्रधानमन्त्रीज्यूलाई अवगत गराउन चाहन्छु, यो देशमा प्रत्येक दिन, प्रत्येक क्षण, प्रत्येक कुनामा महिला हारिरहेका छन्, लाज भइरहेको छ।
बिहान घरबाट निस्केपछि साँझ घर नफर्केसम्म कतै आफूसँग कुनै अप्रिय घटना घट्ने त होइन, जसरी प्रत्येक दिन बलात्कारका घटना बढिरहेका छन्, आफू पनि कतै बलात्कारको सिकार त हुने होइन भन्ने डरमा पलपल बाँच्न विवश म यो राष्ट्रमा हरेक दिन हार्छु ।
एक अपाङ्गता भएकी महिलालाई बन्धक बनाएर पटक-पटक उनीमाथि सामूहिक बलात्कार भएको घटना जब टेलिभिजनमा सार्वजनिक हुन्छ, यो देशमा त्यही बखत सम्पूर्ण महिलाको हार हुन्छ।
एक दुईवर्षे बालिकालाई बलात्कार गरी हत्या गरेको आरोपमा पक्राउ परेका अभियुक्तलाई जब आममाफी दिएको खबर ती बालिकाकी आमाको कानसम्म पुग्छ, बालिकाकी आमाको मात्र हार हुँदैन, यो देशमा सम्पूर्ण आमाहरूको हार हुन्छ।
जब आफू यो राष्ट्रमा असुरक्षित महसुस गरेर एक दक्ष महिला विदेश पलायन हुन बाध्य हुन्छिन्, यो देशमा फेरि महिला हार्छन्।
बलात्कारको सिकार भएपश्चात् फेरि त्यही बलात्कारको भिडियो लिक गर्दिन्छु भन्दै धम्क्याएर एक बलात्कारीले ६ महिनासम्म एक किशोरीको यौनशोषण गरेर उनको मानसिक स्थिति नै खल्बलाउँछ, उनलाई डिप्रेसनको सिकार बनाउँछ, उनको मनोबल कहिल्यै उठ्न नसक्ने गरी गिराउँछ। किशोरीले आफू बलात्कृत भएको कुरालाई आठ वर्षसम्म आफूभित्रै राखेर प्रत्येक क्षण मरेको जस्तो आभास गर्छिन्। जब एकदिन बडो हिम्मत जुटाएर आफ्नो कुरा सार्वजनिक गर्छिन्, न्यायको लागि अदालतको ढोका ढक्ढकाउँछिन्, देशको कानूनले अरू अपराध भए बीस वर्षपछि पनि अभियोग लगाउन मिल्ने तर बलात्कार जस्तो जघन्य अपराधमा एक वर्षभित्र अभियोग लगाउनुपर्ने समयसीमा तोकेको प्रष्ट्याएर उनको उजुरी लिन अस्वीकार गर्छ । त्यो दिन एक किशोरीको मात्र हार हुँदैन, उनीसँगै यो राष्ट्रका सम्पूर्ण महिलाहरूको हार हुन्छ।
बलात्कारीलाई अदालतसम्म पुर्याए पनि तारेख वा धरौटीमा छुट्नसक्ने व्यवस्था राष्ट्रको कानुनमा हुन्छ भने भन्नुहोस् त्यो राष्ट्रमा महिलाले कसरी जित्न सक्छन् ?
जुन देशमा एक वर्षकी बालिकादेखि ७० वर्षकी हजुरआमाको बलात्कारको घटनाले दिनहुँ पत्रिका भरिन्छन्, त्यही देशमा १० वर्ष मुनिका बालिका बलात्कार गरेको खण्डमा १७-२० वर्षको जेल सजाय र १८ वर्षभन्दा माथिका महिला बलात्कार गरेको खण्डमा ७ देखि १० वर्षसम्मको जेल सजाय जस्तो फितलो, बलात्कारीको मनोबल बढाउने न्यून सजाय सुनाइन्छ। त्यस्तो असुरक्षित देशमा महिला कसरी जित्छन् ?
त्यसैले प्रधानमन्त्रीज्यू, यो देशमा प्रत्येक क्षण महिला हार्छन्, प्रत्येक क्षण लाज हुन्छ। महिलालाई हार्न नदिन तपाईं के गर्न सक्नुहुन्छ ? दशकौं अगाडि बलात्कार विरुद्ध बनेको कानुनलाई मान्यता दिइरहेको सन्दर्भमा यसलाई संशोधन गरी थप कसिलो बनाउनुका साथै बालक, वयस्क पुरुष र यौनिक अल्पसंख्यकहरूको बलात्कारीलाई पनि सोही कानुन अनुरूप सजाय दिन सक्ने हिम्मत तपाईंसँग छ ? महिलालाई जिताउन बलात्कारविरुद्ध एक वर्षभित्र अभियोग लगाउनुपर्ने समयसीमा हटाउन सक्नुहुन्छ ?
बलात्कारका पीडकलाई तारेख वा धरौटीमा छोड्न नमिल्ने प्रावधान ल्याई बलात्कृत महिलालाई भयमुक्त वातावरण प्रदान गर्न सक्हुन्छ ? उनीहरूको आत्मबल उकास्न सक्नुहुन्छ ? महिला हार्नु भनेको राज्य हार्नु हो। जब आफ्नो राष्ट्रको प्रत्येक कुनामा निर्धक्कका साथ विना कुनै सङ्कोच हरेक महिला हिंड्न सक्छन्, तब मात्र यो राष्ट्रमा महिलाको जित हुन्छ, राष्ट्रको जित हुन्छ।
अहिले देशको सबैभन्दा शक्तिशाली पदमा हाम्रो अभिभावकको रूपमा तपाईं विराजमान हुनुहुन्छ, त्यसैले आफ्नो अभिभावकलाई म प्रश्न गर्न चाहन्छु के महिलालाई जिताउन, राष्ट्रलाई जिताउन आफ्नो शक्ति प्रयोग गर्ने सामर्थ्य तपाईंसँग छ ?
कुनै महिलामाथि कुदृष्टि लगाउने हिम्मत गर्ने आँट कसैले नगरोस्, यस्तो कानुन बनाएर मेरो प्रश्नको उत्तर दिनुहुनेछ र राष्ट्रका सम्पूर्ण महिलालाई जिताउनुहुनेछ भन्ने आशा बोकेर बसेकी छु। बिन्ती, मलाई निराश नबनाइदिनुहोला।
(पौडेल हाल कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर चितवनमा अध्ययनरत छिन्।)
from Online Khabar https://ift.tt/MEBHyjG
No comments:
Post a Comment