Thursday, September 15, 2022

पुनः गेसोको नेतृत्वमा फर्किए पदम बहादुर गुरुङ

३१ भदौ, काठमाडौं । गोर्खा भूतपूर्व सैनिक संघ (गेसो)का संस्थापक सभापति पदमबहादुर गुरुङ पुनः नेतृत्वमा फर्किएका छन् ।

उनले पाँच वर्षअघि कृष्णकुमार राईलाई स्वेच्छिक रुपमा नेतृत्व हस्तान्तरण गरेका थिए । तर राईको काम सन्तोषजनक नभएको उनको भनाइ छ ।

‘हाल सेवामा रहेका र अवकाश भइसकेका सबै गोर्खा सैनिक तथा गेसोलाई माया गर्ने बुद्धिजिवीहरुले पनि तपाईं नेतृत्वमा फर्किनुपर्छ भनेकाले म पुनः गेसोको नेतृत्व सम्हाल्ने निर्णयमा पुगें’ उनले भने । हालै ४५ दिनसम्म बेलायत बसेर फर्किएका गुरुङले आफू नेतृत्वमा फर्किएको औपचारिक जानकारी आगामी असोज ३ गते (सेप्टेम्बर १९) पत्रकार सम्मेलन गरेर दिने बताए । गुरुङले सन् २०१७ सेप्टेम्बर १९ मै कृष्णकुमार राईलाई नेतृत्व हस्तान्तरण गरेका थिए ।

स्याङ्जा घर भएका गुरुङ सन् १९५८ मा वृटिश गोर्खा सैनिकमा भर्ती भएका थिए । उनले सन् १९६९ मा अवकाश पाएका थिए ।

त्यसपछि प्रजातान्त्रिक आन्दोलनमा सक्रिय भएका गुरुङले २०४७ सालमा जिल्ला प्रशासन कार्यालय ललितपुरमा गेसो दर्ता गराएर गोर्खा सैनिकहरुको हकहितका लागि संघर्ष सुरु गरेका थिए । गुरुङकै नेतृत्वमा बेलायतका तत्कालीन प्रधानमन्त्री टोनी ब्लेयरकी श्रीमती चेरी ब्लेयरलाई गेसोको वकिलमा नियुक्त गरेर गेसोले कानुनी लडाइँ लडेको थियो । बेलायतको रोयल कोर्ट अफ जस्टिसबाट मुद्दा जितेपछि गोर्खा सैनिकहरुले पनि बेलायतका सैनिकसरह सेवा सुविधा पाउन थालेका थिए ।

गुरुङले हाल गोर्खा सैनिकको नाममा बेलायतले नेपालीहरुलाई भर्ती गरेर नेपालसँग कूटनीतिक सम्बन्ध भएकै देशहरुविरुद्ध लडाएर युद्ध अपराध गरेको भन्दै गोर्खा भर्ती बन्द गर्नुपर्ने आवाज उठाउँदै आएका छन् । उनी भन्छन्, ‘नेपालसँग कूटनीतिक सम्बन्ध रहेका मित्र राष्ट्रहरुको सार्वभौम भूमिमा नेपाली नागरिकलाई वृटिसको बहादुर गोरखा बनाई युद्ध लड्न पठाएर नेपालले कुन नैतिकताको आधारमा असंलग्न परराष्ट्रको कुरा उठाउने ?’



from Online Khabar https://ift.tt/46RDLT3

No comments:

Post a Comment