९ असोज, रियाद । युक्रेनमा रुसी आक्रमणपछि रुसबाट आपूर्तिमा कमी आएसँगै युरोपमा तेल र ग्यासको अभाव देखिन थालेको छ । उक्त अभाव पूर्ति गर्न युरोपेली राष्ट्रका नेतृत्वले खाडी क्षेत्रतिर आँखा लगाउन थालेका छन् ।
यसैक्रममा जर्मन चान्सलर ओलाफ स्कोल्ज दुई दिने खाडी भ्रमणको सुरुआतमा शनिबार साउदी अरब आइपुगेका छन् ।
‘रेड सी’को तटमा रहेको जेद्दाह विमानस्थलमा मक्का क्षेत्रका गभर्नर राजकुमार खालिद बिन फैसल अल साउदले स्कोल्जलाई स्वागत गरे । त्यसपछि उनले साउदी अरबका प्रभावशाली शासकसमेत रहेका राजकुमार मोहम्मद बिन सलमानसँग भेटवार्ता गरे ।
शनिबार साँझ संयुक्त अरब इमिरेट्स (युएई) र त्यसपछि आइतबार कतार जानुअघि उनले साउदी महिलाको समूहसँग पनि भेटघाट गर्ने कार्यक्रम छ । जर्मन चान्सलरले युक्रेनमाथिको आक्रमणपछि रूसबाट आपूर्तिमा कमी आएसँगै तेल र ग्यासको धनी खाडी मुलुकहरूसँग नयाँ ऊर्जा साझेदारीमा सहमति जनाउने अपेक्षा गरेका छन् ।
उता, फ्रान्सको टोटलइनर्जीजले शनिबार कतारको प्राकृतिक ग्यास उत्पादन विस्तारमा ठूलो लगानी गर्नेगरी हस्ताक्षर गरेको छ । यो लगानी इन्धनमा रूसको विकल्पको रूपमा नयाँ ऊर्जा स्रोतहरूको लागि युरोपको खोजीको क्रममा आएको छ ।
कतारका ऊर्जामन्त्री साद शेरिदा अल–काबीले टोटल इनर्जीका प्रमुख कार्यकारी अधिकृत प्याट्रिक पोयानसँग सम्झौता भएको घोषणा गरेका छन् ।
हस्ताक्षरपछि काबीले भने, ‘कूल ऊर्जामा नर्थ फिल्ड साउथ परियोजनाको ९.३ प्रतिशत हुनेछ, जसको लागि २५ प्रतिशत विदेशी ऊर्जा फर्महरूको लागि आरक्षित गरिनेछ ।
कतारको सरकारी समाचार संस्था क्यूएनएले भनेको छ, ‘कतार इनर्जीले नर्थ फिल्ड साउथको विकासका लागि साझेदारको रूपमा टोटल इनर्जीको चयनको घोषणा गरेको छ । नयाँ साझेदारहरूको घोषणा पछिको चरणमा गरिनेछ ।’
काबीले अगाडि थपे, ‘फ्रान्सेली विशाल ऊर्जा कम्पनीले नर्थ फिल्ड साउथबाट ग्यास निकाल्नका लागि लगानीमा पनि मद्दत गर्नेछ ।’ फ्रान्सेली कम्पनीले कतारको ग्यास विस्तारमा ‘उन्नत रणनीतिक’ भूमिका निर्वाह गर्ने उनले बताए ।
गत जुनमा टोटल इनर्जीजले विशाल ‘नर्थ फिल्ड इस्ट’ परियोजनामा भाग लिन दुई अर्ब डलरको सम्झौता गरेको थियो । यसले कतारलाई सन् २०२७ सम्ममा ६० प्रतिशतभन्दा बढी प्राकृतिक ग्यासको उत्पादन बढाउन मद्दत गर्नेछ ।
युरोपेली राष्ट्रहरूले रूसी तेल र ग्यासको विकल्प खोज्न कोसिस गरिरहेका बेला नर्थ फिल्डको एलएनजी सन् २०२६ देखि काम गर्न थाल्ने अपेक्षा गरिएको छ ।
संयुक्त राज्य अमेरिका र अष्ट्रेलियासँगै कतार प्राकृतिक ग्यास (एनएलजी) उत्पादकमध्ये उत्पादनका हिसाबले विश्वको शीर्ष स्थानमा रहेको मुलुक एक हो ।
सरकारी स्वामित्वको कतार इनर्जीका अनुसार नर्थ फिल्डले विश्वको ज्ञात प्राकृतिक ग्यास भण्डारको करिब १० प्रतिशत हिस्सा ओगटेको छ ।
यी भण्डारहरू समुद्रमुनि इरानी भूभागमा फैलिएका छन्, जहाँ तेहरानले आफ्नो दक्षिण पार्स ग्यास क्षेत्रको दोहन गर्ने प्रयासलाई अन्तर्राष्ट्रिय प्रतिबन्धहरूले बाधा पुर्याएको छ ।
दक्षिण कोरिया, जापान र चीन कतारको एलएनजीका लागि मुख्य बजार बनेका छन् तर गत वर्ष युरोपमा ऊर्जा संकट उत्पन्न भएपछि खाडी राष्ट्रले बेलायतलाई थप आपूर्तिका लागि सहयोग गरेको छ । साथै यसले जर्मनीसँग सहयोग सम्झौताको पनि घोषणा गरेको छ । एएफपी
from Online Khabar https://ift.tt/KpRdQhz
No comments:
Post a Comment