Sunday, May 8, 2022

देश दौडाहमा रहेका शीर्ष नेतालाई गृहजिल्लामै धौधौ

२६ वैशाख, काठमाडौं । स्थानीय तहको निर्वाचनका लागि मतदानको दिन सम्मुखमै आइपुग्दा शीर्ष नेताहरूको चुनावी दौडाहा तीव्र छ । आइतबार मात्रै नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले बुटवल र चितवको सभामा सम्बोधन गरे ।

प्रधानमन्त्री एमव नेपाली कांग्रेसका सभापति शेबहादर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एकै दिन पोखरा, घोराही र तुलसीपुरका सभालाई सम्बोधन गरे ।

पार्टीका नेताहरू जिताउन देश दौडाहा गरिहेका शीर्ष नेताहरुलाई आफ्नो पार्टीलाई विजयी बनाउने त चुनौती त छँदै छ, आफ्नै गृहजिल्लामा साख जोगाउन समेत धौ-धौ छ ।

देउवालाई कर्ण मल्लको चुनौती

अघिल्लो पटकको स्थानीय तहको चुनावमा डडेलधुराका ७ मध्य ४ स्थानीय तहमा नेपाली कांग्रेसले जित हात पारेको थियो । देउवाको गृह पालिका गन्यापधुरा गाउँपालिकासहित परशुराम नगरपालिका, आलिताल गाउँपालिका र भागेश्वर गाउँपालिकामा कांग्रेस विजयी भएको थियो । कांग्रेस विजयी भएका पालिकामध्य दुईमा एमाले र दुईमा माओवादी केन्द्र प्रतिस्पर्धी थिए ।

यसपटक भने देउवाका लागि आफ्नो गृह गाउँपालिका गन्यापधुरासहित पहिले जितेका पालिका सुरक्षित गर्ने चुनौती छन् । यसको कारण हुन, कांग्रेसबाट असन्तुष्ट भएर विद्रोह गरेका कर्ण मल्ल ।

गन्यापधुरामा एक हजार ९०० मत ल्याएर एमाले दोस्रो थियो । यसपटक एमाले र असन्तुष्ट कर्ण मल्लको नेपाली कांग्रेस बीपीबीच तालमेल भएकाले कांग्रेससँग एमालेको कडा प्रतिस्पर्धा हुने देखिन्छ । यहाँ एमालेले नेपाली कांग्रेस बीपीलाई प्रमुख दिएर उपप्रमुख आफूले लिएको छ । यो कांग्रेसका लागि टाउको दुखाई हो ।

त्यस्तै भागेश्वर गाउँपालिकामा एमाले करिब २०० मतले मात्रै कांग्रेससँग पराजित भएको थियो । मल्लसँग एमालेको तालमेलले कांग्रेसलाई यसपटक पनि जित दोहोर्‍याउन अप्ठ्यारो पारेको छ ।

अघिल्लो पटक एमालेले जितेको अमगरगढी नगरपालिकामा र नवदुर्गा गाउँपालिकामा पनि कर्णकै कारण कांग्रेसलाई सहज छैन । माओवादीले जितेको एक मात्र पालिका अजयमेयरु गाउँपालिकामा पनि कांग्रेसले जित्न सजिलो छैन  ।

माओवादीबाट अघिल्लो पटककै अध्यक्ष उमेशप्रसाद भट्ट दोहोरिएका छन् भने यो गाउँपालिका देशकै उत्कृष्ठ पाँच मध्य एकमा परेको थियो ।

ओलीको गृहनगरमै गठबन्धन

एमाले अध्यक्ष केपी शर्मा ओलीलाई आफ्नो गृहनगर दमकमै जित्न चुनौती थपिएको छ । अघिल्लो पटक १० हजार मत ल्याएर जितेको एमालेविरुद्ध यसपटक कांग्रेस, माओवादी, राप्रापा र एकीकृत समाजवादीबीचको गठबन्धन छ ।

सत्ता गठबन्धनले राप्रपालाई प्रमुखमा सर्मथन गरेको छ। अघिल्लो चुनावामा राप्रपाका राम थापा एक्लैले ७ हजार ६५५ मत ल्याएका थिए । त्यस्तै माओवादी केन्द्रले ६ हजार ८०० र कांग्रेसले ५ हजार ५०० मत पाएका थिए । यी सबै मिल्दा एमालेलाई जित्न निकै कठिन हुने छ।

२०७४ को स्थानीय तहको चुनावमा झापाका १५ मध्ये एमालेले ८ पालिमा जितेको थियो । एमालेले दमकसहित कन्काइ नगरपालिका, भद्रपुर नगरपाकिला, अर्जुनधारा नगरपालिका, शिवसतासीनगरपालिका, बिर्तामोड नगरपालिका, हल्दीबारी र कमल गाउँपालिकामा जितेको थियो ।

अघिल्लो चुनावमा कांग्रेसले मेचीनगर नगरपालिका, गौरादह नगरपालिका, गौरीगंज गाउँपालिका, बाह्रदशी गाउँपाकिला, झापा गाउँपालिका र बुद्ध शान्ति गाउँपालिकामा जितेको थियो । त्यस्तै राप्रपाले कचनकवल गाउँपालिकामा जितेको थियो ।

मेचीनगर नगरपालिकामा यसपटक तालमेल भएर प्रमुख नेपाली कांग्रेस, र उप्रमुख माओवादी केन्द्रले लिएका छन् । दुई मिल्दा एमालेलाई यहाँ जित्न गाह्रो छ।

गौरादहमा अघिल्लो पकट प्रमुख नेपाली कांग्रेस र उपप्रमुख एमालेले जितेको थियो । जितको मतान्तर ५०० जति मात्रै थियो । तर, यसपटक नेपाली कांग्रेसले एक हजार ४०० मत पाएको माओवादीसँग तामेल गरेर आफ्नो जित शुनिश्चित गरेको छ ।

कांग्रेसले नै जितेको गौरीगंज गाउँपालिकामा यसपटक पनि एमाले, कांग्रेस र माओवादीबीच त्रिपक्षीय प्रतिस्पर्धा हुने देखिन्छ ।

बाह्रदशीमा यसपालि पनि एमाले र कांग्रेसबीच नै तीव्र प्रतिस्पर्धा हुने देखिन्छ । झापा गाउँपालिकामा पनि एमाले, कांग्रेस र माओवादीबीच नै त्रिपक्षीय प्रतिस्पर्धा हुने देखिन्छ ।

बुद्धशान्ति गाउँपालिकामा नेपाली कांग्रेस र माओवादीबीच तालमेल भएकाले एमालेलाई जित पार्न झन कठिन नभएको छ। कचनकवलमा यसपटक पनि राप्रपा र कांग्रेसबीच नै प्रतिस्पर्धा हुने देखिन्छ ।

‘प्रचण्ड’लाई भरतपुर प्रतिष्ठाको विषय

प्रचण्डलाई यसपालि पनि आफ्नो गृह नगर भरतपुर महानगरपालिकामा जित दोहोर्‍याउने चुनौती छ । यसपटक पनि महानगर प्रमुखमा कांग्रेस र एकीकृत समाजवादीको साथ भए पनि बागी उम्मेदवार जगन्नाथ पौडेलले अप्ठ्यारोमा पारिरहेका छन् ।

माओवादीलाई मेयर दिनुहुन्न भन्ने मत कांग्रेसभित्र बलियो मत थियो । तर, पुनः माओवादीले नै पाएपछि कांग्रेसभित्रको असन्तुष्टिलाई समेट्न पौडेल अगाडि आएका छन् । कांग्रेसको धेरै मत बागी उम्मेदवार पौडेलतिर गए माओवादीलाई महानगरमा जित हात पार्न कठिन हुने देखिन्छ ।

माधव नेपाल सशक्त नदेखिएको काठमाडौं र रौतहट

एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालको गृृहजिल्ला रौतहट हो भने काठमाडौंमा पनि उनी उत्तिकै क्रियाशील छन् । नेपालले दुवै जिल्लाबाट संसदीय निर्वाचन लड्ने गरेका छन् ।

काठमाडौं महानगरको उमपेयर पाएको एकीकृत समाजवादीले तारकेश्वर र गोर्कणेश्वरमा माओवादी र शंखरापुरमा कांग्रेससँग तालमेल गरेर प्रमुख लिएको छ ।

महानगरको उपमेयर र तालेमल भएका यी दुई नगरमा कांग्रेसबाट कत्तिको भोट ‘ट्रान्सफर’ हुन्छ भन्ने कुराले नै हार/जितको निर्धारण गर्ने देखिन्छ ।

तर, काठमाडौंका बाँकी ६ नगरपालिकामा एकीकृत समाजवादी मुख्य प्रतिस्पर्धी शक्ति होइन । कीर्तिपुर, चन्द्रागिरि, टोखा, दक्षिणकाली, नार्गाजुन र बुढानीलकण्ठमा एमाले र कांग्रेस नै मुख्यप्रतिस्पर्धी हुन ।

रौतहटमा पनि एकीकृत समाजवादी कमजारे नै देखिन्छ । २०७४ को चुनावा रौतहटका १८ पालिकामध्ये एमाले एक पालिमा पनि विजय भएको थिएन । त्यसैले एकीकृत समाजवादीले जित्ने सम्भावना कम छ ।

राजदेवी नगरपालिकामा कांग्रेस र एमालेबीच प्रतिस्पर्धा हुने देखिन्छ । त्यस्तै वृन्दावनमा पनि मुख्य प्रतिस्पर्धा कांग्रेस र एमालेबीच नै हुने देखिन्छ ।

अघिल्लो पटक माओवादीले जितेका मौलापुर र कटहरिया नगरपालिमा पनि माओवादी र एमालेबीच नै मुख्य प्रतिस्पर्धा हुँने देखिन्छ । मौलापुर नगरपाकिला एमालेमा गएका नेता प्रभु साहको गृहनगर पनि हो ।

अघिल्लो पटक माओवादी ३ हजार ९०० मतले बिजयी भएको थियो । यहाँ एमालेको मत ११ सय थियो। साहले कति प्रभाव पार्छन भन्ने कुराले जितहार निर्णायक हुनेछ

त्यस्तै कटहरिया नगरपालिकामा अघिल्लो पकट निर्वाचित प्रमुख नै यसपटक एमालेमा गएर उम्मेदवार बनेकाले माओवादी, कांग्रेस र एमालेबीच नै तीव्र प्रतिस्पर्धा हुने देखिन्छ ।

खनालको गृहजिल्लामा मुख्यप्रतिस्पर्धी अरु नै

इलामामा रहेका १० नगरपालिकामध्य अघिल्लो चुनावमा एमाले पाँच पालिकामा विजयी भएको थियो। यसपटकको चुनावमा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालतिर साविकको एमाले जनतमत कति ढल्किन्छ भन्ने कुराले जित हारको निर्धारण गर्ने छ ।

तर, खनालको गृहनगर सूर्याेदय नगरपालिकामा सत्ता गठबन्धनबीच तालमेल भएको छ । यहाँ एकीकृत समाजवादीलाई नेपाली कांग्रेसले प्रमुखमा सर्मथन गरेको छ भने उपप्रमुख नेपाली कांग्रेसले लिएको छ ।

अघिल्लो चुनावमा एमाले १२ हजार ९ सय मत ल्याएर निर्वाचित भएको थियो । १० हजार २ सय मत ल्याएर नेपाली कांग्रेस दोस्रो भएको थियो । यसपटक सत्ता गठबन्धन र एमालेबीच कडा प्रतिस्पर्धा हुनेदेखिन्छ ।

त्यस्तै माइजोगमाइ गाउँपालिकामा पनि एककिृत समाजवादीलेले नै प्रमुख पाएको छ। अघिल्लो चुनावमा एमालेले ५ हजार ६ सय मत पाएर विजयी भएको थियो । ३ हजार ९ सय पाएर कांग्रेस दोस्रो बनेको थियो। यसपटक सत्ता गठबन्धनबीच तालमेल भएर अध्यक्ष एकीकृत समाजवादीले पाएको छ । उपाध्यक्ष कांग्रेसले लिएको छ । सत्ता गठबन्धन र एमालेबीच यसपटक कडा प्रतिस्पर्धा हुनेछ ।

देउमाइ नगरपालिकामा कांग्रेस र एकीकृत समाजवादीबीच तालमेल भएर प्रमुख कांग्रेस र उपप्रमुख एकीकृत समाजवादीले लिएको हुनाले एमालेलाई जित जारी राख्न गाह्रो हुने देखिन्छ । ७ हजार तीन सय मत मत ल्याएर एमाले निर्वाचित भएको थियो । ६ हजार ६ सय मत ल्याएर कांग्रेस दोस्रो भएको थियो ।

फाकफोकथुम गाउँपालिका भने प्रमुख नेपाली कांग्रेस र उपप्रमुख माओवादी केन्द्रले लिएको छ । यसलाई एकीकृत समाजवादीले समेत सर्मथन गरेको छ । यहाँ कांग्रेस र एमालेबीच कडा प्रतिस्पर्धा हुनेदेखिन्छ ।

सन्दकपुर गाउँपालिकामा कांग्रेसले प्रमुख र एकीकृत समाजवादीले उपप्रमुख लिएर तालमेल भएको छ। त्यसैले एमाले र गठबन्धनबीच प्रतिस्पर्धा हुने छ। अघिल्लो चुनावमा ४ हजार ५ सय मत ल्याएर एमाले विजयी भएको थियो । २ हजार ३ मत ल्याएर कांग्रेस दोस्रो भएको थियो ।

तर, इलामका माई नगरपालिका, चुलाचुली गाउँपालिका, माङसेबुङ गाउँपालिका र रोङ गाउँपालिकामा एकीकृत समाजवादी प्रतिस्पर्धामा नै आउने देखिदैन । यहाँ एमाले र कांग्रेसबीच नै मुख्य प्रतिस्पर्धा हुने देखिन्छ ।

गोरखामा एउटा पालिका जिते पनि भट्टराईलाई सन्तोष

जनता समाजवादीका नेता बाबुराम भट्टराईको गृहजिल्ला गोरखामा १४ पालिका छन् । २०७४ सालको निर्वाचनमा नयाँ शक्ति पार्टीमार्फत चुनाव लडेका भट्टराइले एउटा पालिकामा पनि जित हासिल गर्न सकेका थिएनन् ।

गोरखा नगरपालिकामा माओवादी केन्द्र र जनता समाजवादीबीच तालमेल भएको छ। प्रमुखमा माओवादी केन्द्र र उप्रमुखमा जनता समाजवादीले लिएर तालमेल भएको हो । अघिल्लो चुनावमा ६ हजार ५ सय मत ल्याएर नेपाली कांग्रेस विजयी भएको थियो । ५ हजार मतले माओवादी केन्द्र दोस्रो भएको थियो । माओवादीसँगको तालमेलबाट उमेयरमा जित हासिल गर्ने योजना भट्टराईका देखिन्छ ।

त्यस्तै गण्डकी गाउँपालिकामा पनि माओवादी केन्द्र र जसपाबीच तालमेल भएको छ। माओवादी केन्द्रले अध्यक्ष र जसपाले उपाध्यक्ष लिएका छन् । अघिल्लो चुनावमा यहाँ नेपाली कांग्रेस ४ हजार १ सय मत ल्याएर निर्वाचित भएको थियो ।

माओवादी केन्द्रले ३ हजार ८ सय मत ल्याएर दोस्रो भएको थियो । यसपटक माओवादी केन्द्र र जनता समाजवादीले तालमेल गरेका कारण यहाँ कांग्रेस र माओवादीबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ।

पालुङटारमा पनि भट्टराईले तालमेल गर्ने कोसिस गरेका थिए। कांग्रेससँग तालमेल गरेर नगर प्रमुख लिने कोसिस भएको भए पनि अन्तिम समयमा आएर त्यो सफल हुन सकेन । अब यहाँ जसाप एक्लै चुनाव लड्दै छ । तर, यहाँ मुख्य प्रतिस्पर्धा कांग्रेस र माओवादीबीच नै हुने देखिन्छ । अघिल्लो पटक ४ हजार ६ सय मत ल्याएर प्रमुखमा कांग्रेस र ४ हजार ४ सय ल्याएर माओवादी केन्द्र उपप्रमुखमा बिजयी भएको थियो ।

माओवादी केन्द्रले शहीद लखन गाउँपालिकामा जित्दा अरु सबै पालिकामा कांग्रेसले जितेको थियो । यसपटकको चुनावमा पनि अधिकांश स्थानमा कांग्रेस र माओवादी नै मुख्य प्रतिस्पर्धी हुन् ।

बारपाक सुलीकोट, सिरानचोक, अजिरकोट, आरुघाट, चुमनुव्री, धार्चे भिमसेनथापा र शहिद लखन गाउँपालिकामा पनि कांग्रेस र माओवादीबीच नै मुख्य प्रतिस्पर्धा हुने देखिन्छ । यी कुनै पनि पालिकामा जसपा बलियो प्रतिस्पर्धी हुने देखिंदैन ।

रामचन्द्रलाई गोविन्दराज जोशीको चुनौती

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई तनहुँका केही पालिकामा कांग्रेसबाटै कारबाहीमा परेका नेता गोविन्दराज जोशी चुनौती बनेका छन्।

अघिल्लो चुनावमा नेपाली कांग्रेस १० पालिका मध्य ७ पालिका निर्वाचित भएको थियो । दुई पालिका एमालेले जित्दा माओवादी केन्द्रले एउटा मात्रै पालिका जितेको थियो ।

गोविन्दराज जोशीका कारण विशेष गरि व्यास नगरपालिकामा कांग्रेसलाई चुनौती थपिएको छ। अघिल्लो पटक नेपाली कांग्रेस १३ हजार मत ल्याएर निर्वाचित भएको थियो । नेकपा एमाले ९ हजार ५ सय मत ल्याएर दोस्रो भएको थियो । यसपटक एमाले र गोविन्दराज जोशी समूहबीच तालमेल भएको छ । जोशीका छोरा दिपकराज जोशीलाई एमाले प्रमुखमा सर्थन गरेको छ भने आफूहले उपप्रमुख लिएको छ । गोविन्दराज जोशीको गृहनगर समेत भएकाले यहाँ कांग्रेसलाई जित्न निकै मुस्किल हुने देखिन्छ ।

भानु गाउँपालिकामा पनि कांग्रेसलाई चुनौती थपिएको छ। अघिल्लो पटक नेपाली कांग्रेस ९ हजार ५ सय मत ल्याएर विजयी भएको थियो । नेकपा एमाले ९ हजार मत ल्याएर दोस्रो भएको थियो । नेपाली कांग्रेसबाट कारवाहीमा परेका नेता नेता गोविन्दराज जोशीको समूह एमालेसँग मिलेकाले कांग्रेस र एमालेबीचको प्रतिस्पर्धा निकै कडा हुने देखिन्छ ।

भिमाद गाउँपालिकामा नेकपा एमाले ६ हजार ४ सय मत ल्याएर विजयी भएको थियो । यहाँ नेपाली कांग्रेस ६ हजार मत ल्याएर बिजयी भएको थियो । यसपकट एकीकृत समाजवादीले अध्यक्ष र नेपाली कांग्रेसले उपाध्यक्ष लिएरु तालमेल गरेका छन् ।

शुक्लागण्डकी अघिल्लो चुनावमा नेपाली कांग्रेस ९ हजार ४ सय मत ल्यायर कांग्रेस विजयी भएको थियो। एमाले ८ हजार ७ सय मत पाएर दोस्रो थियो । सत्तागठबन्धनबीच तालमेल भएकाले यसपटक पनि प्रमुखमा कांग्रेसकै बलियो सम्भावना छ।

घिसिङ गाउँपालिकामा अघिल्लो चुनावमा ३ हजार ७ सय मत ल्याएर एमाले विजयी भएको थियो । कांग्रेस २ हजार ८ सय मत ल्याएर दोस्रो भएको थियो । यसपटक नेपाली कांग्रेस र एकीकृत समाजवादीबीच तालमेल भएको छ ।

अघिल्लो पटक कांग्रेसले नै जितेका आँबुखैरेनी, ऋषिङ गाउँपालिका र म्याग्दे गाउँपालिकामा पनि जोशी समूहको साथ लिएको एमाले चुनौती हुने देखिन्छ ।



from Online Khabar https://ift.tt/xs5WAXN

No comments:

Post a Comment