Sunday, April 2, 2023

बुटवल-तानसेन सडक अनिश्चितकालका लागि दैनिक ९ घण्टा बन्द हुने

२० चैत, बुटवल । सिद्धबाबा सुरुङ मार्गको पूर्वतयारीको काम गर्न सिद्धार्थ राजमार्गको बुटवल-तानसेन सडक मंगलबारदेखि दैनिक ९ घण्टा बन्द हुने भएको छ ।

राजमार्ग सुरक्षा समितिको बैठकले चैत २१ गतेदेखि अर्को सूचना नभएसम्मका लागि हरेक दिन बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म र रातको १० बजेदेखि बिहान ४ बजेसम्म सडकमा आवागमन बन्द गर्ने निर्णय गरेको हो ।

निर्माण कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले पाल्पाको तिनाउ गाउँपालिकामा पर्ने रामापिथेकस पार्क नजिकको क्षेत्रमा सडक डाइभर्सनको काम फागुन दोस्रो हप्तादेखि जारी राखेको छ । सो क्रममा माथि पहरोबाट खुकुला ढुंगाहरु खस्दा दुर्घटनाको जोखिम भएकाले अर्को सूचना जारी नभएसम्म उक्त सडक खण्डमा सवारी साधन आवागमन बन्द रहने पाल्पाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले जानकारी दिए ।

एम्बुलेन्सलगायत अत्यावश्यकीय सवारी साधनहरु सञ्चालनमा भने अवरोध नहुने बास्तोलाले बताए । यसअघि पनि फागुन १३ देखि २७ गतेसम्म दैनिक ८ घण्टा सडक बन्द गरेर सुरुङ मार्गको पूर्वतयारीका काम सुरु भएको थियो ।

बुटवल-तानसेन खण्डको तिनाउ गाउँपालिका-२, सिद्धबाबा मन्दिरदेखि पाल्पातर्फ ११ सय २६ मिटर दुरीमा सुरुङ मार्ग बनाउन ७ अर्ब ३४ करोड २१ लाख ४ हजार रुपैयाँमा चिनियाँ कम्पनीसँग एक वर्षअघि ठेक्का सम्झौता भएको थियो ।

सुरुङ मार्गको डीपीआरको अन्तिम डिजाइन स्वीकृत हुने क्रममा रहेकाले त्यसलगत्तै सुरुङ मार्ग निर्माणको काम सुरु हुने सिद्धबाबा सुरुङमार्ग योजना कार्यालय प्रमुख होमबहादुर एसीले बताए ।

सम्झौता अनुरूप काम भए चार वर्षमा सिद्धबाबामा सुरुङ मार्ग बन्ने छ ।



from Online Khabar https://ift.tt/MyQa3I7

No comments:

Post a Comment